महामन्त्रीको चेतावनी : सभापति गगन थापालाई पक्राउ गरे कांग्रेस चुप बस्दैन


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण वा गैरकानुनी कदम चाल्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै राणाले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे। सरकारले त्यस्तो कदम चाले राजनीतिक रूपमा दृढ प्रतिरोध गर्ने उनको भनाइ थियो।

उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई सम्भावित गैरकानुनी कदमविरुद्ध एकजुट भएर उभिनसमेत आह्वान गरे।

‘गैरकानुनी पक्राउ गर्न नमानेपछि आईजीपी हटाइयो’

महामन्त्री राणाले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई सरकारले गैरकानुनी रूपमा मानिसहरू पक्राउ गर्न दबाब दिएको आरोप लगाए। आफूलाई मन नपरेका व्यक्ति, राजनीतिक नेता, व्यवसायी तथा कर्मचारीमाथि कानुनी प्रक्रिया मिचेर धरपकड गर्न खोजिएको र त्यसका लागि प्रहरी नेतृत्वलाई प्रयोग गर्न खोजिएको उनको दाबी छ।

आईजीपी कार्कीले गैरकानुनी गिरफ्तारी गर्न नमानेपछि सरकारले उनलाई पदबाट हटाएको राणाले आरोप लगाए। सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न खोजिनु लोकतान्त्रिक व्यवस्था र विधिको शासनका लागि गम्भीर विषय भएको उनले बताए।

राणाले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारका गतिविधि थप विवादित बनेको दाबी गरे। पछिल्लो समय व्यवसायी, राजनीतिक दलका नेता तथा कर्मचारीमाथि व्यापक धरपकड भइरहेको आरोप लगाउँदै उनले राज्यशक्तिको दुरुपयोग रोक्नुपर्ने बताए।

सरकारले सञ्चार क्षेत्रमाथि समेत दबाब र हस्तक्षेप बढाएको राणाको आरोप छ। केही दिनअघि सञ्चारगृहमा प्रहरी पठाएर सञ्चारकर्मीलाई पक्राउ गरिएको घटनाको विरोध गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा जोड दिए।

न्यायालयमाथि समेत सरकारले आफ्ना निकट व्यक्तिहरूमार्फत प्रभाव पार्न खोजिरहेको आरोप लगाउँदै राणाले राज्यका प्रमुख अंगलाई नियन्त्रणमा लिने प्रयास लोकतन्त्रका लागि गम्भीर चुनौती हुने बताए।

देशलाई सही बाटोमा फर्काउन लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका पक्षमा रहेका सबै सचेत नागरिक एकजुट हुनुपर्ने उनको भनाइ थियो। प्रधानमन्त्रीले तानाशाही प्रवृत्ति लागू गर्न खोजेको आरोप लगाउँदै उनले त्यसको प्रतिरोधका लागि जनता सडकमा उत्रिनुपर्ने अवस्था आएको बताए।

‘सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ राणाले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौं।’