‘मेरो हातमा दाग छैन, मनमा कालो छैन, म कुनै कमजोर नैतिक धरातलमा छैन’ : गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवाद र आफूलाई जोडेर सार्वजनिक भएको अडियो प्रकरणमा कुनै पनि आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन्।

बिहीबार सार्वजनिक भिडियो सन्देशमार्फत थापाले नेपाली कांग्रेस सबै खालका अनुसन्धानका लागि तयार रहेको बताउँदै पार्टीको आधिकारिकतासम्बन्धी विषयमा फैलाइएको हल्लालाई बदनियतपूर्ण भन्दै खारेज गरेका हुन्।

उनले पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले यसअघि नै केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर पार्टीको धारणा स्पष्ट पारिसकेको उल्लेख गरे। शर्माले पार्टी कुनै पनि अनुसन्धानका लागि तयार रहेको बताइसकेकाले आफूले पनि केही विषयमा प्रत्यक्ष रूपमा धारणा सार्वजनिक गर्न आवश्यक ठानेको थापाको भनाइ छ।

प्रहरी अनुसन्धानका लागि हिरासतमा रहेका फिक्सर भनिने इनम सापकोटाको नाममा सार्वजनिक भएको अडियोबारे प्रतिक्रिया दिँदै थापाले उक्त अडियो कहाँ, कसले, किन र कहिले बोलेको हो भन्ने आफूलाई थाहा नभएको बताए। अडियोमा आफ्नो नाम जोडिएर आएको विषयमा आफूलाई खासै चासो नभएको उल्लेख गर्दै उनले त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्नेमा जोड दिए।

कांग्रेसको विशेष महाधिवेशनलाई विद्रोहको संज्ञा दिँदै थापाले भदौ २३ र २४ गतेको आन्दोलनपछि पार्टीभित्र परिवर्तन आवश्यक रहेको महसुस गरेर आफूहरू पनि त्यसमा सहभागी भएको बताए। पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा एक सुका पनि आर्थिक लेनदेन वा कुनै अनुचित काम नभएको उनको दाबी छ।

‘अडियोमा हाम्रो बारेमा यस्तो सुनियो रे भन्दै सार्वजनिक रूपमा जवाफ दिनुपर्ने विषय नै होइन। तर यति कुरा स्पष्ट पारौँ, अब प्रश्न हामीलाई होइन, जहाँ सोध्नुपर्ने हो त्यहाँ सोध्नुपर्छ,’ उनले भने। सापकोटामाथि भइरहेको अनुसन्धान निष्पक्ष हुनुपर्ने र प्रकरणमा जोडिएका सबै पक्षको भूमिका खोतलिनुपर्ने उनको माग छ।

अडियो सार्वजनिक भएपछि आफू डराएर विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाटमा लागेको भन्ने टिप्पणीप्रति पनि थापाले आपत्ति जनाए। आफू नेपाली कांग्रेसको सभापति भएकाले राजनीतिक भेटघाट गर्नु जिम्मेवारीभित्रकै विषय भएको उनको भनाइ छ।

मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकार रहेको र आगामी पाँचदेखि सात दिनभित्र विश्वासको मत लिनुपर्ने अवस्था रहेकाले अन्य दलसँग संवाद भइरहेको उनले बताए। सोही सिलसिलामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको उनले स्पष्ट पारे।

थापाले वर्तमान सरकारलाई पाँच वर्षको जनादेश प्राप्त भएकाले त्यसको सम्मान गर्नुपर्ने बताए। तर सरकारले विपद्बाट घरबारविहीन भएकाहरूको पुनःस्थापना, सुकुमबासी समस्या, रोजगारी सिर्जना, लगानी र अर्थतन्त्र सुधारजस्ता विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ।

सरकारले सही काम गर्दा कांग्रेसको साथ रहने तर गलत काम गर्दा प्रश्न उठाउने र प्रतिवाद गर्ने उनले बताए। लोकतान्त्रिक अधिकार कुण्ठित गर्ने तथा संस्थाहरूलाई कमजोर बनाउने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने उनको चेतावनी छ।

आफूमाथि विगतदेखि नै विभिन्न प्रायोजित भाष्य निर्माण गरेर चरित्रमाथि प्रश्न उठाउने प्रयास हुँदै आएको दाबी गर्दै थापाले आफूले सधैँ सत्ताका गलत कामविरुद्ध आवाज उठाउँदै आएको बताए।

‘म गगन थापा तपाईंको दाइ, भाइ, साथी, छोरा र सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। मेरो हात सफा छ,’ उनले भने।

थापाले अन्त्यमा प्रायोजित हल्लाका कारण सही प्रश्न उठाउने प्रवृत्ति कमजोर हुन नहुने बताए। प्रश्न गर्न छाडिए लोकतन्त्र मात्र नभई देशको प्रगतिसमेत प्रभावित हुने उनको भनाइ छ।