प्रधानमन्त्री राहत कोषमा ठमेल पर्यटन परिषद्को १६ लाख ४० हजार सहयोग


काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार २१८ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

परिषद्ले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरीराज पौडेलमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।

ठमेलमा आयोजित ‘ठमेल क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया’ कार्यक्रममा परिषद्का अध्यक्ष राजुमान डङ्गोलले प्रमुख जिल्ला अधिकारी पौडेललाई चेक हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले विपद्का बेला ठमेल क्षेत्रका घरधनी तथा व्यवसायीले प्रभावित नागरिकका लागि गरेको सहयोगको प्रशंसा गरे ।

परिषद्का कोषाध्यक्ष किन्चु ल्हामु भुटिया श्रेष्ठका अनुसार प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रको पुनर्निर्माण, भौतिक संरचनाको पुनःस्थापना तथा प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको हो ।

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय रहँदै आएको परिषद्ले विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो दायित्व भएको जनाएको छ ।

यसअघि पनि परिषद्ले भोटेकोशी बाढी प्रभावित रसुवा क्षेत्रमा पुगेर २५ लाख रुपैयाँ बराबरको खाद्यान्न, भाँडाकुँडा तथा लत्ताकपडा वितरण गरेको महासचिव पशुपति कँडेलले जानकारी दिए ।

परिषद्ले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकार, निजी क्षेत्र र विभिन्न सङ्घसंस्थाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ ।