दशौँ राष्ट्रिय खेलकुदको तयारी बुझ्न मन्त्री बादी सुर्खेत रङ्गशालामा


सुर्खेत । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले सुर्खेतस्थित रङ्गशालाको स्थलगत अनुगमन तथा निरीक्षण गरेकी छन्।

कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, पूर्वाधार निर्माण र व्यवस्थापकीय प्रगतिको अवस्था बुझ्न मन्त्री बादी रङ्गशाला पुगेकी हुन्।

अनुगमनका क्रममा उनले खेल मैदान, प्यारापिटलगायत निर्माणाधीन पूर्वाधारको अवस्था तथा प्रतियोगिताको व्यवस्थापकीय तयारीबारे सम्बन्धित सरोकारवालासँग जानकारी लिएकी थिइन्।

मन्त्री बादीले प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि आवश्यक आवास, खेलस्थलको व्यवस्थापन तथा अन्य सेवा–सुविधाका विषयमा पनि चासो व्यक्त गरिन्। प्रतियोगिता व्यवस्थित, भव्य र सफल बनाउन सबै पक्षले आवश्यक तयारी समयमै पूरा गर्नुपर्नेमा उनले जोड दिइन्।

राष्ट्रिय खेलकुद प्रतियोगिताले नयाँ खेल प्रतिभाको पहिचान, खेल क्षेत्रको विकास र राष्ट्रिय एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उनले तोकिएको समयभित्र सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिइन्।

प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दै मन्त्री बादीले दशौँ राष्ट्रिय खेलकुद कर्णालीवासीका लागि गौरवको विषय भएको बताइन्।