छठ मनाउन काङ्ग्रेस सभापति थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ जाने


काठमाडौँ। नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापा तराई–मधेशको महान् सांस्कृतिक एवं आस्थाको पर्व छठ मनाउन आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ जाने हुनुभएको छ।

काठमाडौँमा नेपाल संवत् तथा तिहार पर्व सम्पन्न गरेलगत्तै सभापति थापा छठ पूजाको मुख्य अवसर पारेर सर्लाही पुग्ने कार्यतालिका तय भएको उहाँको सचिवालयले जनाएको छ। त्यहाँ रहँदा उहाँले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा निर्माण गरिएका छठ घाटहरूमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक विधिमा सहभागिता जनाउनुहुनेछ। साथै, उहाँले स्थानीय मतदाता, नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष भेटघाट गरी छठ पर्वको शुभकामना आदानप्रदानसमेत गर्नुहुनेछ।

यसअघि आज सभापति थापा नेपाल संवत् ११४७ को अवसरमा आयोजित विशेष कार्यक्रमहरू तथा नेवार समुदायको परम्परागत म्हः पूजामा सहभागी हुँदै हुनुहुन्छ। त्यस्तै, भोलि भाइटीकाको दिन उहाँले घरमै सामान्य रूपमा पारिवारिक वातावरणमा तिहार मनाउने र त्यसलगत्तै छठ पर्वका लागि मधेश झर्ने कार्यक्रम रहेको छ।