बिमस्टेक बैठकमा नेपालको प्रतिबद्धता : क्षेत्रीय स्वास्थ्य सहकार्यलाई थप बलियो बनाउने


कोलम्बो । श्रीलङ्काको कोलम्बोमा आयोजित पहिलो बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालले क्षेत्रीय स्वास्थ्य सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।

बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले स्वास्थ्य प्रणालीलाई उत्थानशील बनाउनेदेखि सीमापार रोगको निगरानी र जनस्वास्थ्यका साझा चुनौती समाधान गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताइन् ।

उनले एक स्वास्थ्य (वन हेल्थ) अवधारणा, एन्टिमाइक्रोबियल प्रतिरोध, जलवायु परिवर्तनअनुकूल स्वास्थ्य सेवा, डिजिटल स्वास्थ्य प्रविधि तथा गुणस्तरीय स्वास्थ्य सेवामा सबैको समान पहुँच सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिइन् ।

बैठकका क्रममा मन्त्री मेहताले बिमस्टेक सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूसँग छुट्टाछुट्टै द्विपक्षीय छलफलसमेत गरेकी थिइन् । छलफलमा द्विपक्षीय तथा क्षेत्रीय स्वास्थ्य साझेदारी विस्तार, प्राविधिक विशेषज्ञताको आदानप्रदान र साझा जनस्वास्थ्य चुनौतीको सामना गर्न सहकार्य बढाउने विषयमा विचारविमर्श भएको थियो ।

नेपालले सामूहिक प्रयास, पारस्परिक विश्वास र साझा उत्तरदायित्वलाई क्षेत्रीय स्वास्थ्य सहकार्यको आधारका रूपमा अघि सारेको छ ।

स्वस्थ, सुरक्षित र उत्थानशील क्षेत्र निर्माणका लागि बिमस्टेक सदस्य राष्ट्रहरूसँग नजिक रहेर काम गर्न नेपाल तयार रहेको मन्त्री मेहताले स्पष्ट पारेकी छन् । साथै, क्षेत्रीयस्तरमा गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्दै ठोस परिणाम हासिल गर्नुपर्नेमा नेपालको जोड रहेको छ ।