जलवायु परिवर्तनविरुद्ध सबै देश एकजुट हुनुपर्छ : मन्त्री खनाल


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरले भौगोलिक सीमा नचिन्ने भएकाले यसको सामना गर्न क्षेत्रीय तथा विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका छन्।

टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का अवसरमा नेपाल पेभिलियनमा आयोजित साइड इभेन्टलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन सबै मुलुकको साझा चुनौती भएको बताएका हुन्।

‘रिजनल कोअपरेसन मेकानिजम फर द हिन्दुकुश हिमालयः लेसन्स फ्रम ट्रान्सबाउन्ड्री क्लाइमेट डिजास्टर्स’ विषयक कार्यक्रममा मन्त्री खनालले हिन्दूकुश हिमाली क्षेत्रको संरक्षण र सुदृढीकरणमा जोड दिए।

जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय ऐक्यबद्धता बलियो बनाउनुपर्ने उनको भनाइ थियो। उनले पृथ्वीको पारिस्थितिक प्रणालीको स्वास्थ्य र मानवताको सामूहिक हित संरक्षणका लागि बहुसरोकारवाला साझेदारीलाई थप प्रभावकारी बनाउनुपर्नेमा समेत जोड दिए।

कार्यक्रममा कोप–३१ मा सहभागी विभिन्न देशका नीति निर्माता, क्षेत्रीय विज्ञ, जलवायु अभियन्ता तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो।