चीन भ्रमणमा जान लागेको रास्वपा टोलीले भेट्यो रवि लामिछानेलाई


काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डलले आज पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ।

चीन भ्रमणको तयारी तथा भ्रमणका क्रममा उठाउनुपर्ने विषयमा आवश्यक सल्लाह र सुझाव लिन टोलीले सभापति लामिछानेसँग भेट गरेको हो।

यसअघि उक्त प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग पनि भेट गरेको थियो। चीन भ्रमणलाई लिएर प्रतिनिधिमण्डलले राजनीतिक नेतृत्वसँग परामर्श तथा छलफललाई तीव्रता दिएको देखिन्छ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले २०८३ कात्तिक २९ गतेदेखि चीन भ्रमण गर्ने कार्यक्रम रहेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा हुन लागेको उक्त भ्रमणलाई दुई राजनीतिक दलबीचको आपसी सम्बन्ध, अनुभव आदानप्रदान तथा सहकार्यका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।

भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूसँग भेटघाट तथा विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ। यद्यपि, भ्रमणको विस्तृत कार्यतालिका र छलफलका एजेन्डाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।