जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। शनिबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।
प्रदेशसभाको अंकगणितीय जोडघटाउमा अल्झिएर सरकार सञ्चालन गर्नुभन्दा प्रदेशमा राजनीतिक स्थिरता कायम गर्दै निकास खोज्नु आवश्यक रहेको निष्कर्षसहित आफूले राजीनामा दिने निर्णय गरेको उनले बताएका छन्।
प्रदेशसभामा सम्बोधन गर्दै यादवले वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै स्थिर सरकार निर्माणका लागि मार्गप्रशस्त गर्नु आफ्नो निर्णयको मुख्य उद्देश्य रहेको स्पष्ट पारे। सरकार सञ्चालनका क्रममा देखिएका राजनीतिक चुनौती र सत्ता समीकरणका जटिलताभन्दा प्रदेशको समग्र हितलाई प्राथमिकतामा राखेर राजीनामा दिएको उनको भनाइ थियो।
मुख्यमन्त्री यादवले आफ्नो राजीनामाले प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सहज हुने विश्वास व्यक्त गरेका छन्। प्रदेशमा राजनीतिक स्थायित्व कायम गर्न दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको उनको जोड थियो।
मुख्यमन्त्री यादवको राजीनामासँगै मधेस प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ। नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच यसअघि नै नयाँ सत्ता समीकरणबारे सहमति भइसकेको बताइएको छ।
यससँगै मधेस प्रदेशको सत्ता राजनीतिमा नयाँ अध्याय सुरु हुने देखिएको छ। अब प्रदेश प्रमुखले संविधान र प्रचलित कानुनी व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछन्।
मुख्यमन्त्री यादवको राजीनामापछि प्रदेशमा नयाँ नेतृत्व कसरी चयन हुन्छ र सत्ता साझेदारीको सहमति कसरी कार्यान्वयन हुन्छ भन्ने विषयलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

















प्रतिक्रिया