उदयपुरको सदरमुकाममा रहेको गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरको बदमासीले एक विरामीे बिजाेक भएकाे छ । पीडित खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका ३ बाम्राङका ४२ वर्षिय पूर्णबहादुर खत्रीको देव्रे हातको कुममा राखिएको स्टिल झिक्नु पर्नेमा सिभिल हस्पिटलका डाक्टरले हड्डीको सानो टुक्रा नै झिकेर फ्याकी दिएपछि अस्पतालको बदमासी बाहिर आएका छन् । पीडित खत्रीले शुक्रबार पत्रकार सम्मेलन गरी हस्पिटलका रिपोर्टहरु देखाएपछि सिभिल हस्पिटलको लापरबाही बाहिरिएकाे हाे ।
खत्रीले देब्रे कुममा राखिएको स्टिल अप्रेशन गरी निकाल्नु पर्नेमा सिभिल हस्पिटलका डाक्टर संजयकुमार साहले स्टिल त्यहि छाडेर हड्डीको टुक्रा नै काटेर फ्याकि दिएको आरोप लगाएका छन् । स्टिल लगाएर हात ठिक पार्न खोजेका उनको डाक्टरले उल्टै हड्डी काटिदिएपछि हात पहिलेको अवस्थामै बनाउने आश मारेकाे छ । यो डाक्टरको गम्भिर लापरवाही हो भन्दै पूर्णरुपले सहि उपचारको माग गरेका छन् ।
पत्रकार सम्मेलनमा पीडित खत्रीले भने, ‘२०७५ माघ ७ गते दिक्तेल बजारमा लडी देव्रे हात कुमको हड्डी भाचिएको थियो । कुमको हड्डी भाचिएपछि दिक्तेल हस्पिटलमा सामान्य उपचार पछि काठमाडौंको नेपाल अर्थोपेडिक अस्पतालमा माघ २८ गते स्टिल लगाई दिएका थियाे । स्टिल लगाई दिएपछि विस्तारै विस्तारै कुमको हड्डी जोडिदै गएको थियो । बीचमा बेलाबेलामा स्टिलको अवस्था बुझ्न जाँच गराई राख्नु पर्ने भएपछि धेरैजसो समय काठमाडौंमा गराएको र दुई पटक बाटैमा पर्ने भएकाले आफ्न्तले गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरमा जाँच गराउन अनुरोध गर्दा जाँच गराएका थियाैँ ।
जाँचको क्रममा काठमाडौं र गाईघाटको दुबै अस्पतालले हड्डी जोडिदै गएको राम्रो भएको रिपोर्ट दिएको थियो । आफ्न्तको सल्लाह अनुसार २०७६ कात्र्तिक ७ गते गाईघाट सिभिल हस्पिटलमा स्टिल निकाल्ने काम भयो । अप्रेशन गरेर स्टिल झिके छ भन्दै ढुक्क थिए जव घर पुगेपछि दुःख्न नछोडेपछि पुनः नेपाल अर्थोपेडिक अस्पतला काठमाडौंमा एक्सरे गर्दा पो स्टिल निकाल्नु पर्नेमा मेरो कुमको हड्डी नै निकालेर फ्याकेको रहस्य पत्ता लाग्यो ।
अर्थोपेडिकका डाक्टरले हड्डी नै निकालेर फ्याकेको बताएपछि आफु छागाबाट झरेझै भए, “पत्रकार सम्मेलनमा रिपोर्ट देखाउदै खत्रीले भने “अस्पताल र डाक्टरले नियतबस मेरो हड्डी काटेर धेरै खर्च गराउन खोजेको भन्ने पनि लागेको छ ।” राम्रो रिपोर्टको आधारमा स्टिल निकाल्नु पर्ने अवस्थामा काठमाडौं नै जान खोजेका विरामीलाई यहि ठीक हुन्छ भन्दै जबरजस्ती अप्रेशन गर्दा गाईघाट सिभिल अस्पतालका डाक्टरको लापरवाही गरेको पिडित खत्रीले बताए ।
सो हस्पिटल विगतदेखि नै सेवा प्रवाह र शुल्कको सन्दर्भमा विवादित बन्दै आएको छ । स्थानीय गोपीकृष्ण बस्नेतले अस्पताल र डाक्टरको लापरवाहीपूर्ण यस्ता घटनाहरु दर्जनौ भईसकेको बताए । अस्पतालका डाक्टर साहसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । सञ्चालक मध्येका एक राम गुरागाईले खत्रीको घटना बारे बुझ्न बाँकी रहेको जवाफ दिएका छन् ।
प्रतिक्रिया