कोरोना नियन्त्रणमा खटिने स्वयंसेविकालाई १५ सय भत्ता !


सरकारले कोरोना रोकथाम, नियन्त्रणका लागि खटिने स्वयंसेविकलाई एकपटकमा १५ सय भत्ता उपलब्ध गराउने भएको छ । सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले साेमबारको मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णय गरेको जानकारी दिएका हुन् । नेपालभर ५० हजार ग्रामीण स्वास्थ्य स्वयमसेविका रहेको तथ्यांकमा उल्लेख छ। यसअघि कोरोना रोकथाम गर्न गठित उच्चस्तरीय समितिले उनीहरूलाई पनि परिचालन गर्ने निर्णय गरेको थियो।सरकारले पहिलो चरणमा क्वारेन्टाइनमा बस्नुपर्ने मानिसहरू बसे नबसेको, नियम पालना गरे नगरेको अनुगमन गर्ने महिला स्वयम्सेविका परिचालन गर्न लागेको हो।

यस्तै, बैठकले निजी क्षेत्रका चिकित्सकलाई सरकारी अस्पतालमा काम गर्न दिने पनि निर्णय गरेको छ । ‘निजी क्षेत्रका चिकित्सकहरुले पनि सरकारी अस्पतालहरुमा आएर काम गर्न चाहेमा वा काम गर्न खोजेमा सम्बन्धित तहअनुसार मिलान गरेर काम गर्न अवसर दिने र उहाँहरुले पाउने सुविधा सरकारी चिकित्सकहरुले पाउनेसरहको हुने छ’ खतिवडाले भने ।