हामीले नयाँ वर्ष २०७७ लाई स्वागत गरिसकेका छौँ । वर्ष २०७६ लाई हामीले विदाई गरिसेका छौँ ।
चलचित्र क्षेत्रको लागि वर्ष २०७६ निराशजनक नै रह्यो । ५५ चलचित्र रिलिज हुदाँ जम्मा ६ वटा चलचित्रले लगानी बचाए भने अरु चलचित्रको लगानी बालुवामा पानी भयो ।
वर्ष २०७६मा स्टार कहलिएका कलाकारहरु सबै चिप्लिए । अनमोल केसी, प्रदीप खड्का र सलिनमान बनियाँ भने यस वर्ष पर्दामा देखिएनन् । बाकीँ स्टारहरु नराम्रोसँग चिप्लिए ।
जेष्ठ ३ गते रिलिज भएको चलचित्र ‘वीर विक्रम २’मा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन लगायतको अभिनय रहेको थियो । तर, यत्तिका स्टारकाष्ट हुदाँ पनि चलचित्र सफल रहेन । बक्सअफिसमा यस चलचित्र नराम्रोसँग पछारियो । चलचित्रसँगै यस चलचित्रका स्टारहरु असफल भए ।
त्यस्तै, साउन ३० गते रिलिज भएको चलचित्र ‘हजार जुनीसम्म’मा पनि गतिलो स्टरकाष्ट थियो । आर्यन सिग्देल, स्वस्तिमा खड्का, सलोन बस्नेत, प्रियंका कार्की, संचिता लुइँटेल लगायतको स्टारकाष्ट भएका कारण पनि चलचित्रलाई प्रतिक्षित चलचित्रको रुपमा हेरिएको थियो । तर पनि चलचित्र सफल हुन सकेन । स्वस्तिमा, आर्यन, प्रियंका लगायतका स्टारहरु यहीँ चिप्लिए ।
यस वर्ष नम्बर १ नायिका कहलिएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पनि असफल रहिन । उनी अभिनि दुई चलचित्र मारुनी र रातो टिका निधारमा दुबै असफल रहे ।
कार्तिक ८ गते रिलिज भएको चलचित्र पोई पर्यो कालेबाट नायिका पूजा शर्मा पनि असफल भइन् । यस चलचित्रले त झन हलबाट पानी समेत भन्न पाएन । यस चलचित्रमा आकाश श्रेष्ठ, सौगात मल्ल, सृष्टि श्रेष्ठ पनि जोडिएका थिए । सबै कलाकार फ्लपको सुचिमा परे ।
त्यस्तै, स्वस्तिमा खड्का र निश्चल बस्नेतको अनस्कृन जोडीलाई पनि दर्शकको साथ मिलेन । उनीहरु अभिनित चलचित्र ‘घामड शेरे’ असफल भयो । फ्लप कलाकारको सुचिमा स्वस्तिमासँगै निश्चल पनि जोडिए ।
यस वर्ष अभिनेतामा विपिन कार्की, दयाहाङ राई र दीपकराज गिरीले चलचित्र क्षेत्रमा राज गरे । नायिकामा वर्षा राउत, केकी अधिकारी र सुरक्षा पन्त सफल देखिए ।
यस वर्ष विपिन अभिनित दुई चलचित्र रिलिज भए । जात्रै जात्रा र सेल्फी किङ्ग । जात्रै जात्राबाट व्यापारिक तथा समीक्षात्मक दुबै सफलता पाएका विपिनले ‘सेल्फी किङ्ग’बाट समीक्षात्मक सफलता मात्र पाए । पैसा नकमाए पनि विपिनको तारिफ नै भएको थियो ।
त्यस्तै दयाहाङ राईले पनि चलचित्र ‘जात्रै जात्रा’ र ‘कबड्डी ३’ बाट आफूलाई व्यापारिक तथा समीक्षात्मक रुपमा सफलता दिलाए । भलै उनी अभिनित चलचित्र सेन्टी भाइरस असफल रह्यो ।
त्यस्तै, सधैझै वर्ष २०७६ मा दीपकराज गिरीले राज नै गरे । ‘छ माया छपक्कै’बाट उनले राम्रो पैसा छापे । यसपाली त समीक्षात्मक रुपमा पनि दीपकराज सफल रहे ।
नायिकामा वर्षा राउत चलचित्र ‘जात्रै जात्रा’बाट सफल भइन् भने केकी अधिकारी चलचित्र ‘छ माया छपक्कै’बाट सफल नायिकामा परिन् ।
यस वर्ष सर्वाधिक चर्चा पाएकी नायिकामा पर्छिन्, सुरक्षा पन्त । उनले चलचित्र ‘आमा’मा गरेको भूमिकालाई सबैले रुचाएका थिए । व्यापारिक तथा समीक्षात्मक दुबै रुपमा सुरक्षा सफल भइन् ।
सरसर्ती हेर्दा स्टार चिप्लिएको वर्ष २०७६ मा फरक धारमा विश्वास गर्ने कलाकारहरुले राज गरेको देखिन्छ ।
प्रतिक्रिया