फेरी भत्कियो बन्दाबन्दै गरेको बढीघाट खोलाको पुल !


गुल्मीको मुसिकोट नगरपालिकामा पर्ने बढीघाट खोलामा बन्दै गरेको पुल दोस्रोपटक पनि बन्दाबन्दै भत्किएको छ । मुसिकोट नगरपालिकाका पौदीअमराई र कल्यार जोड्ने सो पुल दोस्रोपटक बुधबार आएको बाढीले भत्किएको हो ।

गत वर्ष ढलान गर्ने बेलामा पनि यो पुल भत्किएको थियो । भत्किएको आठ महिनापछि पुनः बनाउन सुरु गरिएको थियो । तर, बुधबार साँझपख आएको बाढीले पुनः पुल भत्किएको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । बुधबारको बाढीले फर्मा, फलामका पाइप, जेनेरेटर, ह्युम पाइप बगाएको छ । पुलको तल्लो ढलानमा क्षति पुगेको बताइएको छ ।

वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले यो पुल निर्माणको ठेक्का पाएको छ । ५५ मिटर लामो पुलको लागत ५ करोड १७ लाख रुपैयाँ छ । ठेकेदारको लापरवाहीका कारण बाढीले पुलमा ठूलो क्षति पुगेको र निर्माण कार्यमा पनि ढिलाइ भइरहेको स्थानीयबासी बताउँछन् ।