सर्लाहीको हरिवन नगरपालिका–११ स्थित पूर्व–पश्चिम राजमार्ग किनारमा बस्ने अमृता उप्रेती र अर्जुन मैनाली दम्पती यतिवेला अति व्यस्त छन् । भोकभोकै गन्तव्यतर्फ लम्किरहेका पैदलयात्रीलाई बोलाउँदै खाना खुवाउन उनीहरूलाई भ्याइनभ्याई छ । कोभिड–१९ को महामारी फैलिन नदिन सरकारले ११ चैतमा देशव्यापी लकडाउन घोषणा गर्यो । तर, त्यसअघि नै त्रास सुरु भइसकेकाले पसलहरू खुल्न कम भइसकेको थियो । लकडाउन घोषणा भएपछि अधिकांश पसल बन्द भए, राजमार्गमा भने पैदलयात्रीको ओहोरदोहोर बाक्लियो ।
भोकैतिर्खै हिँडिरहेका यात्री देखेर मैनाली दम्पती चुप बस्न सकेनन् । उनीहरू स्थानीय जीवन अस्पतालका सञ्चालक हुन् । ‘लकडाउन’ घोषणा भएको साँझ अमृता स्कुटरमा अस्पताल आउँदै थिइन् । उनको आँखा सडकमा हिँडिरहेकी महिलामा पर्यो । उनी मुस्किलले पाइला चालिरहेकी थिइन् । उनलाई केही परसम्म पुर्याएर छाडिदिने सोच आयो, अमृतामा । तर, स्कुटरमा राखेकी मात्र के थिइन्, महिलाले बोकेकी बालिका जोडले रुन थालिन् ।
उनका खुट्टा हिँड्नै नसक्ने गरी सुन्निएका थिए । र, अघिल्लो दिनदेखि भोकै थिइन् । अमृताले ती बालिकालाई बिस्कुट र पानी दिइन्, उनले तीन पुरिया बिस्कुट एकै सासमा खाइसकिन् । बालिकाको भोक देखेर अमृताको मन विचलित भयो । त्यसपछि भोलिपल्टदेखि नै बटुवालाई अस्पतालमै डाकेर दाल, भात, तरकारी र अचार बनाएर खुवाउन थालिन् ।
उनीहरूले साँझपख त्यहाँ पुग्ने बटुवालाई वास पनि दिने गरेका छन् । दैनिक ४०–५० जनालाई खाना खुवाउँछन् । काठमाडौंदेखि झापासम्मबाट पैदल यात्रामा निस्किएकाहरूका लागि मैनाली दम्पतीले निःशुल्क खाना र वास उपलब्ध गराउँदै आएका छन् । बिहानै खाना तयार पार्छन्, जसलाई हटकेसमा राख्छन् । र, जतिवेला पैदलयात्री आइपुग्छन्, हतार–हतार बोलाएर खुवाउँछन् ।
अर्जुनका अनुसार निःशुल्क खाना खुवाउँछौँ भन्दा पत्याउँदैनन् । र, भन्छन् ‘किनेर खान त पाइएको छैन, निःशुल्क कसैले खुवाउँछ ?’ तर, विश्वास दिलाएपछि आउँछन्, खाना खान्छन्, केहीबेर आराम गर्छन् अनि हृदयभरिको धन्यवाद दिँदै गन्तव्यतर्फ सोझिन्छन् । उनीहरूको सेवाबारे थाहा पाएका कतिपयले सर्लाही प्रवेश गर्नासाथ पैदलयात्रुलाई मैनाली दम्पतीले निःशुल्क खाना खुवाउने गरेको जानकारी पनि दिन थालेका छन् ।
काठमाडौंबाट तीन दिन हिँडेर यहाँ आइपुगेका धीरेन्द्र यादवले यसबीचमा पहिलोपटक खाना खान पाएको बताए । उनले भने, ‘मलाई त यस्तोवेलामा किन हिँडेको भनेर गाली गर्न बोलाएजस्तो लागेको थियो, तर मीठो खाना खुवाउनुभयो । उहाँहरूलाई धेरैधेरै धन्यवाद । मेरो देशमा मानवता जिउँदै छ ।’-नयाँ पत्रिकाबाट
प्रतिक्रिया