जोर बिजोर लगाऔं, आइतबार पनि बिदा गरौं : आयल निगमको प्रस्ताव


नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । निगमले सरकारलाई पत्र लेख्दै सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिन प्रस्ताव गरेको हो ।

इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा विचार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको उनले बताए ।

‘निगमको आर्थिक अवस्था निकै जर्जर भयो, पेट्रोलियमको मूल्यका कारण देशलाई जोगाउन पनि दुई दिन सार्वजनिक बिदा र जोर बिजोर लागू गर्न पर्ने देखियो’ उपाध्यायले भने । मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ ।