तेब्बरसम्म कमाइ हुने आश्वासन दिएर हाइपर फण्डका नाममा ठगी गर्ने ६३ जनाविरुद्ध मुद्दा दर्ता

288
Shares

काठमाडौं– हाइपर फण्डका नाममा नेटवर्किङ खडा गरेर ठगी गरिएको आरोपमा ६३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमा मुद्दा दर्ता गरेको हो ।

मंगलबार जिल्ला अदालतमा ६३ जनाविरुद्ध ठगीको कसुरमा मुद्दा गरिएको छ । दुई महिना लगाएर गरेको अनुसन्धान प्रतिवेदन अनुसार ५८ जनाबाट ७ करोड ७२ लाख ८५ हजार ९२१ रुपैयाँ ठगी भएको पाइएको दाबी गर्दै सिआईबीले सोही अनुसारको बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरेको हो ।

उक्त समूहले तेब्बरसम्म कमाइ हुने आश्वासन दिएर सर्वसाधारणलाई ‘हाइपर भर्स’ मा रकम हाल्न लगाएर पिरामिड शैलीमा ठगी गरिएको थियो ।
प्रहरीका अनुसार हाइपर भर्सको लिंक र जुम मिटिङको आईडी र पासवर्ड दिएपछि साइटमा प्रवेश गरेर मिटिङमा समावेश गराइन्छ ।
त्यसपछि हाइपर भर्स नामक ‘ब्लक चेन टेक्नोलोजी’ कम्पनीका व्यक्तिहरुले जुम मिटिङमार्फत हाइपर भर्समा लगानी गर्न काउन्सिलिङ गर्ने गरेको खुलेको थियो ।

हाइपर भर्समा लगानी गर्दा १ हजार डलरको ३ हजार डलर बराबर अर्थात तेब्बर आम्दानी हुने भन्दै विश्वास दिलाएर नेपाल तथा विदेशमा रहेका व्यक्तिको बैंक खातामा रकम जम्मा गर्न लगाई संगठित रूपमा ठगी गरेको पाइएको छ ।

मुद्दा दर्ता गरिएकामध्ये ६१ जना फरार छन् । २ जना भने पक्राउ प्रतिवादी बनेका छन् । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोलकी ५१ वर्षीया काजल भनिने नानु घिमिरे र लमजुङको बेसीशहर नगरपालिका–११ का ३७ वर्षीय कृष्णकान्त भण्डारी छन् ।

संगठित रुपमा ठगी गरेको आरोपमा सीआईबीले घिमिरेलाई २० वैशाखमा पक्राउ गरेर अनुसन्धान गरेको थियो । उनी पक्राउ परेपछि कृष्णकान्त पक्राउ परेका थिए । संगठित अपराधको कसुरमा ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्दा यो ठगी प्रकरणमा ६३ जनाको संलग्नता खुलेको हो । तर मुद्दा दायर भएका ६१ जनामध्ये अधिकांश देश बाहिरै रहेकाले पक्राउ गर्न नसकिएको सीआईबीले बताएको छ ।