सहकारी ठगीमा मुछिएपछि कांग्रेस उपसभापति गुरुङले भने, ‘भूपू श्रीमतीसँग जोडेर मलाई सहकारी ठगीमा तान्न मिल्दैन’


काठमाडौं– नेपाली कांग्रेसका उपसभापति एवं प्रतिनिधि सभा सदस्य धनराज गुरुङले भूतपूर्व श्रीमतीसँग जोडेर आफूलाई सहकारी ठगीमा मुछ्न खोजेको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले पूर्व श्रीमती ज्योति गुरुङ र आफूबीच २०७६ फागुन २९ मा सम्बन्धविच्छेद भइसकेको बताए । सम्बन्धविच्छेद भइ अलग भएकी श्रीमतीको बारेमा आफूलाई केही पनि थाहा नहुने उनले बताए । विवाह गर्नु र मिल्न नसक्दा सम्बन्धविच्छेद गर्नुलाई अपराधको रुपमा लिन नहुने उनको भनाइ छ ।

‘कुनै पनि व्यापार, व्यवसायमा श्रीमान वा श्रीमती दुईमध्ये एक जना जोडिँदा अर्कोलाई पनि मुछेर हेर्ने र बुझ्ने हाम्रो प्रचलन छ । त्यसकारण मलाई त्यसमा जोड्न खोज्नु अनौठो होईन । तर, भूतपूर्व श्रीमान वा भूतपूर्व श्रीमतीलाई त्यसरी जोड्न भने व्यवहारिक, कानुनी र नैतिक दृष्टिले मिल्दैन भन्ने हेक्का राखिनुपर्छ,’– उनले भने ।

साथै, उनले आफू र श्रीमतीबीचको सम्बन्धविच्छेद नक्कली हो भनेर अभिव्यक्ति आउन थालेको भन्दै उनले त्यसलाई प्रमाणित गर्न चुनौति दिए । सहकारी ठगीबारे छानविन गर्न बनेको विशेष समितिले प्रतिवेदन पेश गर्नै लाग्दा विषयवस्तुलाई अन्त मोड्न आफूविरुद्ध नियोजित रुपमा यो घटना ल्याइएको उनले बताए । आफूमाथि लागेको आरोपको छानविनका लागि उनले संसद्लाई आग्रह गरे । आफूमाथि कुनै आशंका भएमा छानविन गर्न उनले आग्रह गरे ।