
एजेन्सी– कुनैपनि कम्पनीले आफ्नोलागि कर्मचारी राख्नुपर्यो भने योग्य कर्मचारी राख्न चाहन्छ । त्यसैले राम्रो जागिर र आम्दानीका लागि एउटा व्यक्तिले आफ्नो काममा आफुलाई उत्कृष्ट बनाउन मेहेनत गर्छ । तर भारतमा एक महिलालाई कम्पनीले आफूले चाहेको भन्दा काममा बढी दक्ष भएका कारण राख्न अस्विकार गरेको छ । गुगलमा काम गर्ने एक महिला कर्मचारीलाई एउटा कम्पनीले आवश्यकता भन्दा ज्यादा योग्य भएक जागिर दिन अस्विकार गरेको हो ।
आफू ‘ओभर क्वालिफाइड’ भएको कारण जागिर नपाएको भन्दै ति महिलाले कम्पनीले जागिर लिन अस्विकार गरेको इमेलको स्क्रिनसट सामाजिक सञ्जालमा राखेकी छिन् । जुन पछिल्लो समय निकै चर्चाको विषयसमेत बनेको छ । महिलाले सार्वजनिक गरेको उक्त पोष्टमा मानिसहरुले विभिन्न प्रतिक्रियासमेत जनाइरहेका छन् ।
दिल्लीस्थित एक स्टार्टअप कम्पनीले गुगलमा कार्यरत सफ्टवेयर इन्जिनियर अनु शर्मा नाम गरेकी महिलाले तोकिएको पदका लागि दिएको उम्मेदवारको बायोडाटा अस्वीकार गरेको हो । कम्पनीले उनलाई किन अस्विकार गरेको हो भन्ने कारण समेत उल्लेख गरेको छ । अनुले सामाजिक सञ्जाल ट्विटरमा ‘धेरै राम्रो भइयोभने पनि जागिरका लागि अस्विकृत भइन्छ भन्ने थाहा थिएन’ भन्दै उक्त इमेल सार्वजनिक गरेकी छिन् ।
कम्पनीले अनुलाई इमेलमा अस्विकार गर्दै लेखेको छ, ‘तपाईले आवेदन दिनुभएको पदको लागि कामको विवरणमा उल्लेखित योग्यता भएको व्यक्ति चाहिन्छ। तपाईंको बायोडाटा हेरेपछि तपाईंको योग्यताहरू हामीले खोजेको भन्दा धेरै रहेको हामीले महसुस गरेका छौँ । हाम्रो विगतका अनुभवले हामीलाई सिकाएको छ कि कुनै पदको व्यक्ति बढी दक्ष भएमा उनीहरु आफ्नो काममा सन्तुष्ट हुन सक्दैन । जसकारण उनीहरु चाँढै नै कम्पनी छाडेर जान्छन् ।’
सामाजिक सञ्जालमा सार्वजनिक भएको कम्पनीको उक्त प्रतिक्रियालाई साँचो भएको भन्दै कतिपयले समर्थन जनाएका छन् । कतिपयले भने जागिरमा नराखिकन कसरी यस्तो मान्यता राख्न सकिन्छ भन्दै कम्पनीको विपक्षमा प्रतिक्रिया जनाएका छन् । कतिपयले जागिरबाट अस्विकार गर्न बजारमा नयाँ बहाना आएछ भन्दै प्रतिक्रिया जनाएका छन् ।














प्रतिक्रिया