फुलपातीमा ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ को भिडन्त


काठमाडौं – आगामी दशैंको फुलपातीमा तीन नेपाली चलचित्रको भिडन्त हुने भएको छ । गत वर्ष जस्तै यस वर्ष पनि तीन ठूला चलचित्रबीच भिडन्त हुने भएको हो । अघिल्लो दशैंमा ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रतिस्पर्धामा उत्रिएका थिए । जसमध्ये ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ ले बाजी मारे । दर्शकले दुवै चलचित्रलाई अत्यधिक रुचाए । ‘ज्वाइँ साब’ले अपेक्षित शो पाउन नसके पनि लगानी भने उठाउन सफल भयो ।

‘छक्का पञ्जा ५’ ले १७ करोड र ‘१२ गाउँ’ ले २१ करोड कमाए । यसपटक भने कमेडी जनरा, सामाजिक कथा र एक्सन प्रधान गरी तीनवटै विधाका चलचित्र प्रदर्शनमा आउँदैछन् । जसमा ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ छन् । हरिवंश आचार्य र प्रकाश सपूतको मुख्य भूमिका रहेको ‘हरिबहादुरको जुत्ता’ कमेडी जनराको चलचित्र हो । चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।

प्रकाश सपूत, मेरुना मगर, केदार घिमिरे माग्नेबुढा, धिरज मगरलगायतको अभिनय रहेको माइतीघर सामाजिक पारिवारिक विषयवस्तुमा आधारित चलचित्र हो । जसलाई मिलन तामाङले निर्देशन गरेका छन् । यस्तै, विराज भट्टका छोरा समीर भट्टको दोस्रो चलचित्र ‘बलिदान’ एक्सन प्रधान चलचित्र हो । चलचित्रमा समीरका अलावा विराज भट्ट, सौगात मल्लको पनि मुख्य भूमिका रहेको छ । चलचित्रलाई सन्तोष सेनले निर्देशन गरेका छन् ।

अघिल्लो वर्ष ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’ भिड्दा समीर भट्टको प्रचार गरेका सन्तोष यसपटक भने आफ्नै चलचित्रसँग अन्य दुईवटा चलचित्र भिड्न आएपछि तनावमा परेका छन् । त्यसबेला दीपकराज गिरी र सन्तोष सेनबीच अनबन भएको थियो । यसपटक दीपकको कुनै चलचित्र छैन । तीनवटा चलचित्र जुध्न लागेपछि दीपकले भनेका छन्, ‘निर्वाचन होइन यो एउटाले जित्ने, अनि अर्कोले हार्ने । सुखद माहौल बनोस दशैमा, तीनवटै फिल्म सफल पार्ने ।