काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्ती इन्द्रबहादुर बानियाँले विश्वासको मत लिएपछि मात्रै कांग्रेसबाट थप पाँच मन्त्री नियुक्त गर्ने भएका छन् । निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षले आफ्नो पक्षका तीन मन्त्रीलाई सपथ खुवाउनुपर्ने अडान लिएपछि विवाद देखिएको छ । सोही कारण सरकारले पूर्णता पाउन सकेको छैन ।
कांग्रेस बाग्मती प्रदेश संसदीय दलको शनिबार बसेको बैठकले प्रदेश सभाको साउन २७ गते मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिन ह्विप लगाउने निर्णय गरेको छ । बैठकले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम बाग्मती प्रदेशसभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्न प्रदेशसभाको साउन २७ गते मंगलबार दिउँसो ४ः०० बजे बस्ने गरी आह्वान गरेको छ ।
बैठकमा आफ्ना सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन, तटस्थ नहुन र विश्वासको मतको पक्षमा मतदान गर्न नेपाली कांग्रेसको संसदीय दलको विधान २०७४ को धारा १२ को उपधारा ६ बमोजिम गर्न ह्वीप जारी गरिएको छ । लामा पक्षले आफ्नो पक्षका तीन मन्त्रीलाई सपथ नखुवाए सांसद पदबाटै सामूहिक राजीनामा दिने धम्की पनि दिएको छ ।
त्यसका लागि आइतबार सो पक्षको बैठक बोलाइएको छ । बैठकले संसदीय दल कार्यसमिति गठन गरेको छ । प्रदेश सदस्यहरू श्रीराम लामिछाने, सुना परियार, मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने तथा कांग्रेस बागमती प्रदेश समितिको महामन्त्रीद्वय राजु श्रेष्ठ र कन्चनचन्द्र बादे सदस्य रहेका छन् । यस्तै, तीन सदस्यीय अनुशासन समिति गठन पनि गरेको छ । समितिमा छिरिङदोर्जे लामा, बिनु रायमाझी पौडेल र सुरजचन्द्र लामिछाने छन् ।














प्रतिक्रिया