काठमाडौँ । आजको डिजिटल युगमा नेपाली फिल्म उद्योगले निर्माणदेखि प्रदर्शनसम्म हरेक क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग गरिरहेको छ । तर, यो बिन्दुसम्म आइपुग्न नेपाली फिल्मले सेलुलाइड युगलाई पार गर्नुपरेको थियो । त्यतिबेला चार-पाँच प्रिन्टबाट फिल्म प्रदर्शन गरिन्थ्यो, जसका कारण एक हलदेखि अर्को हलमा प्रदर्शनका लागि समय तालिका मिलाउनुपर्ने बाध्यता थियो । प्रिन्ट सङ्ख्या बढाउँदा लागत बढ्ने भएकाले सीमित प्रिन्टमा समय हेरफेर गरेर प्रदर्शन गरिन्थ्यो । सीमित प्रिन्ट मोफसलमा प्रदर्शन हुँदा कोरिने, प्वाल पर्ने जस्ता समस्याले कतिपय हलमा फिल्म धमिलो देखिन्थ्यो । १६ मिलिमिटरमा खिचेर ३५ मिलिमिटरमा प्रदर्शन गर्दा गुणस्तरमा कमी आउँथ्यो, जसले शहरिया दर्शकको रोजाइमा नेपाली फिल्म कम पर्न थाले ।
समान मूल्यमा गुणस्तरीय विदेशी फिल्म उपलब्ध हुँदा नेपाली फिल्मप्रति आकर्षण घट्दै गयो । ध्वनि, छायाङ्कन र प्रदर्शनमा देखिएका यस्ता समस्यालाई महसुस गरेका निर्माता तथा निर्देशक अशोक शर्माले नेपाली फिल्मलाई डिजिटल प्रविधितर्फ डोर्याए । ‘हामीले ल्याइरहेको गुणस्तरले लामो समय टिक्न गाह्रो छ भन्ने लाग्यो’, शर्माले भने, ‘हामी प्राविधिक फड्को मार्न सकिरहेका थिएनौँ । अन्य देशमा भइरहेको रूपान्तरण हाम्रोमा सम्भव थिएन ।’
शर्माका अनुसार, ३५ मिलिमिटरबाट सुरु भएको फिल्म निर्माण १६ मिलिमिटर हुँदै भिडियोमा पुग्दा शहरिया दर्शक निकै घटे । यही क्रममा जय नेपाल हललाई नयाँ स्वरूपमा सञ्चालन गर्ने योजना बनाइरहेका भाष्कर ढुंगानासँग उनको भेट भयो । जय नेपाललाई नयाँ स्वरूपमा तयार गरिए पनि सुरुमा विदेशी फिल्म मात्र प्रदर्शन भए, तर लक्षित दर्शक हलसम्म आएनन् ।
हलप्रतिको पुरानो सोचका कारण यस्तो भएको शर्माको बुझाइ थियो । उनले जय नेपालमा नेपाली फिल्म ‘सुख दुःख’ प्रदर्शन गर्न दबाब दिए । तर, नेपालभर रेकर्ड बनाइरहेको उक्त फिल्मले जय नेपालमा दर्शक तान्न सकेन । यसले शर्मालाई फिल्मको निर्माण र कथ्य शैलीमा परिवर्तन आवश्यक रहेको महसुस भयो । त्यही बेला डिजिटल प्रविधिको आवश्यकता देखियो ।
भारतमा सन् २००५ मा भित्रिएको डिजिटल प्रविधिलाई नेपालको लागतसँग मिल्ने पाएपछि यहाँ ल्याइयो । ‘डिजिटल प्रविधिमा फिल्म बनाउँदा दर्शकले खोजेको नयाँ शैलीको सुरुआत हुन्छ भन्ने लाग्यो’, शर्माले भने । जय नेपालमा डिजिटल प्रविधिबाट प्रदर्शन सुरु भयो । शर्मा, प्रदर्शक ढुंगाना र केही व्यक्तिले ‘डिजिटल सिनेमा नेपाल (डिसिएन)’ स्थापना गरे ।
प्रविधिको जानकारी दिन प्रदर्शनी आयोजना गरियो । जय नेपालमा हलिउड र बलिउड फिल्म डिजिटल प्रविधिमा प्रदर्शन भए, तर नेपाली फिल्म अझै सेलुलाइडमै बनिरहेका थिए । ‘डिजिटल प्रविधिलाई प्रवर्द्धन गर्दा पुराना ल्याबहरूले विदेशी फिल्मलाई फाइदा पुग्छ भन्दै बदनाम गर्न खोजे’, शर्माले भने । यही चुनौतीबीच डिसिएनले ‘कागवेनी’ फिल्म बनायो । भूषण दाहालले निर्देशन गरेको यो फिल्मले नयाँ कथ्य र दृश्य भाषा प्रस्तुत गर्यो । परम्परागत हिरोको अवधारणालाई तोड्दै समाजसँग जोडिएका पात्रलाई प्रस्तुत गरिएकाले दर्शकले आफ्नै कथासँग जोडिएको महसुस गरे ।
‘डिजिटल प्रविधिबिना नेपाली फिल्मको भविष्य सम्भव थिएन’, शर्माले भने । डिसिएनले निर्माता र निर्देशकलाई सेयरमा समेटेर फिल्म निर्माणमा सहयोग गर्न थाल्यो । प्रदर्शकलाई हलमा डिजिटल प्रविधि जडान गर्न भाडा लिने व्यवस्था गरियो । गोपीकृष्ण मुभिजले ‘क्युब डिजिटल’ सर्भर भित्र्याएपछि नेपालभर डिजिटल प्रविधि विस्तार हुन समय लागेन ।
‘डिजिटल प्रविधिले निर्माण र प्रदर्शन सहज बनायो । एकैसाथ नेपालभर प्रदर्शन हुँदा गुणस्तरीय फिल्म दर्शकमाझ पुग्यो’, शर्माले भने । सुरुमा प्रिन्टको सट्टा डिजिटल सर्भर प्रयोग भए पनि ‘इनकोडिङ’ का लागि भारत जानुपर्ने बाध्यता थियो । पछि डिसिएनले अष्ट्रेलियाको सफ्टवेयर र सिङ्गापुरको हार्डवेयर प्रयोग गरी आफ्नै सर्भर बनायो । युएफओसँगको सहकार्यमा नेपालमै इनकोडिङ सम्भव भयो ।
अहिले डिजिटल सिनेमा इनिसेटिभ (डिसिआई) ढाँचामा बनेका नेपाली फिल्म विश्वभर प्रदर्शन हुन्छन् । यसले पाइरेसी र विदेश प्रदर्शनको झन्झट हटायो । शर्माका अनुसार, नेपाल विश्वमै पूर्ण डिजिटल प्रविधिमा फिल्म निर्माण, वितरण र प्रदर्शन गर्ने पहिलो देश हो ।
‘सन् २०१५ सम्ममा नेपालमा सबै काम डिजिटल प्रविधिमा भइसकेको थियो’, उनले भने । अहिले नेपालभर १६६ हलमा नन टुके, टुके र फोरके प्रविधि जडान छन् । ‘कागवेनी’ बाट सुरु भएको डिजिटल यात्राले नेपाली फिल्म उद्योगलाई सहज, व्यवस्थित र व्यावसायिक बनाएको छ । प्रिन्ट बोकेर हल धाउनुपर्ने बाध्यता हट्यो, काठमाडौँमा प्रदर्शनको पालो पर्खने लाइन घट्यो । डिजिटल प्रविधिले नेपाली फिल्मलाई विश्वस्तरमा पुर्याएको छ, जसले दर्शक र निर्मातालाई नयाँ सम्भावनाको ढोका खोलेको छ ।
भेषराज कार्की














प्रतिक्रिया