काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गरेका छन् ।
सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी राष्ट्रप्रमुख र सरकार प्रमुखको योगदानको सम्मान गरेका हुन् । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो । पहिलोपटक राष्ट्रपति र प्रधानमन्त्री एक साथ पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका हुन् ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गरेका थिए ।
मुख्यसचिव सुमनराज अर्याल, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका थिए । हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।
पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा आजै राप्रपाले भृकुटीमण्डपमा चियापानको आयोजना गरेको छ ।











प्रतिक्रिया