सर्लाही ४ मा लागिसक्यो ‘अबकी बार गगन सरकार’ को नारा


काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्रीका उम्मेदवार गगन थापा सर्लाही ४ बाट उम्मेदवार बनेसँगै चुनावी माहोल ह्वात्तै बढेको छ । उनले उम्मेदवारी दर्ता गराएसँगै ‘अबकी बार गगन सरकार’ उल्लेख गर्दै सर्लाहीका विभिन्न सहर चोकमा गगन थापाको पूर्ण कदको तस्बिरसहितको ब्यानर टाँसिएको छ ।

मान्छेहरूको भीड बढेको बढ्यै छ । काठमाडौंमात्र होइन, देशभरका कांग्रेस नेता कार्यकर्ता र समर्थकको आँखा सर्लाही ४ बनेको छ ।

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंहले ‘दिनको पाँच सयभन्दा धेरै नचिनेका मान्छेहरूको फोन आउने गरेको र भेट्न आउनेहरूको संख्या धेरै भएको उनी सुनाउँछन् ।

सिंहको घरबाटै गगन थापाको आगामी चुनावी अभियान सञ्चालन हुँदै छ । पार्टीको विशेष महाधिवेशनपछि ढिलोगरी टिकट वितरण सुरु गरेका थापा स्वयंले पनि अन्तिम अवस्थामा सर्लाही–४ बाट टिकट लिने निर्णय गरेका थिए । वारेसबाट उम्मेदवारी दर्ता गरेका थापाले शुक्रबार पार्टी कार्यालय सानेपा पुगी पदबहाल गरेर केन्द्रीय समिति बैठक राख्नेछन् । त्यसपछि मात्रै उनी सर्लाही ४ पुग्ने भएका छन् ।

सर्लाही ४ लाई कांग्रेसको गढ मानिन्छ । यस क्षेत्रमा २०३४ सालको निर्वाचनबाहेक सबै निर्वाचनमा कांग्रेसले नै जित्दै आएको थियो । गत निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि अमरेशकुमार सिंहले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी कांग्रेस मतदाताहरूकै मतदानबाट विजयी भएका थिए । सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यका रूपमा दुईपटक लगातार निर्वाचित सिंहले यसपालि तेस्रो पटक पनि उम्मेदवारी दर्ता गराएका छन् । तर यसपटक उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गरेका हुन् ।

सर्लाही ४ मा नेपाली कम्युनिस्ट पार्टीबाट रजनिश राय, एमालेबाट अमनिषकुमार यादवसहित स्वतन्त्रसमेत गरी ३९ जना उम्मेदवार चुनावी मैदानमा छन् । तीन दर्जनभन्दा बढी उम्मेदवार भए पनि सबैको मुख्य प्रतिस्पर्धा कांग्रेस सभापति गगन थापासँगै हुने भएको छ । यदि सिंह रास्वपा प्रवेश नगरेका भए सो क्षेत्रमा जसपा, नेकपा र एमाले उम्मेदवार प्रतिस्पर्धामा आउने थिए । तर सिंहले घन्टी चुनाव चिन्ह लिएकाले धेरैले अनेक अनुमान गरेका छन् । हरेक निर्वाचनमा चुनाव चिन्ह फेरिरिहने सिंहको प्रवृत्तिका कारण मतदाता वाक्क भएका छन् । यसअघि उम्मेदवार भइसकेकालाई सर्लाही ४ का मतदाताले दण्ड गर्ने निर्णय गरेका छन् ।

कांग्रेस विशेष महाधिवेशनबाट सभापति बनेका गगनले जुन सुझबुझका साथ निर्वाचनको मुखमा १३१ फ्रेस उम्मेदवारलाई टिकट दिएका छन्, त्यसले उनको चर्चा चुलिँदो छ । त्यही भएर अहिले आमजनता गगनलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेका छन् । आमजनताको त्यही भावनालाई बुझेर नै अहिले सर्लाहीका विभिन्न सहरका चोकचोकमा ‘अबकी बार गगन सरकार’ को पोस्टर टाँगिएको हो ।