काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।
शर्माले जारी गरेको विज्ञप्तिअनुसार बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा प्रदेश सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसहित अनुरोध गरिएको छ ।
आजको बैठकमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई लैजाने विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री घोषणा गरेर जाँदा देशमा कस्तो व्यक्ति सरकार प्रमुख बन्दैछ र उसले देश चलाउने कार्ययोजना कस्तो सार्वजनिक गर्दैछ भन्ने जनताले थाहा पाउनेछन् । त्यही भएर गगनलाई प्रधानमन्त्रीको घोषणा गर्न लागिएको बताइन्छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनकै बेला थापा सभापति निर्वाचित भएपछि भावी प्रधानमन्त्री घोषणा गरेका थिए ।
थापा कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन् । सभापति निर्वाचित भए पनि थापा नेतृत्वको कार्यसमिति अहिलेसम्म सानेपा प्रवेश गरेको थिएन । श्रीपञ्चमीको अवसर पारेर गगन सानेपा प्रवेश गर्न लागेका हुन् ।












प्रतिक्रिया