काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार मात्र सर्लाही जाने भएका छन् । आइतबारका लागि जाने भनिएको सरेर सोमबार पुगेको हो ।
सर्लाही ४ मा उम्मेदवार मनोनयन दर्ता गर्ने दिन नै जान खोजे पनि बुद्ध एयरको प्लेन पाँच मिनेटअघि नै उडेपछि थापाले वारेसनामामार्फ उम्मेदवारी दर्ता गराएका थिए । सर्लाही ४ का मतदाताले गगनलाई निकै खोजेका छन् । उनले आइतबारदेखि काठमाडौंमै सर्लाही ४ का मतदाता भेटघाट गरिरहेका छन् । आइतबार राष्ट्रिय सभाको निर्वाचन भएकाले सभापति थापाको कार्यक्रम एक दिन पछि सरेको हो ।
यस्तै, कांग्रेसले माघ १६ गते जनकपुरधाममा तय गरेको मधेशको चुनावी सभा स्थगित भएको छ । मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।
आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने उनले बताए । कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेकोसमेत उनले बताए ।
जनकपुरको सभामा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत शीर्ष नेताहरूको उपस्थिति रहने जनाइएको थियो ।












प्रतिक्रिया