काठमाडौं । विभिन्न भुरेटाकुरे दल र समूहसँग एकता गरेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीमा विग्रह देखिन थालेको छ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकले जनाधार भएका सात नेतालाई निकालेपछि पार्टी फुटको दिशामा अघि बढेको देखिएको छ ।
नेकपाका नेता झलनाथ खनालले हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेकोप्रति आपत्ति जनाएका छन् । सोमबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले पार्टी संयोजक प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् । खनालले गजुरेलजस्ता वरिष्ठ नेतालाई स्पष्टीकरणको मौकासमेत नदिई पार्टीबाट निष्कासन गर्नु आश्चर्यजनक र कठोर निर्णय भएको बताएका छन् ।
पार्टी एकीकरणको घोषणा भएको लामो समय बितिसक्दा पनि नेतृत्वदायी कमिटी बन्न नसकेको र संस्थागत निर्णय प्रक्रिया विकास नभएको भन्दै उनले एकाध व्यक्तिको चाहनामा ठुला निर्णय हुन थालेको आरोप लगाएका छन् । पार्टीका अन्य घटकबाट आएका नेताहरूलाई जानकारी नै नदिई सञ्चारमाध्यमबाट कारबाहीको खबर सार्वजनिक गरिनु विधि र पद्धति विपरीत भएको खनालेको भनाइ छ ।
नेता खनालले गजुरेलमाथिको कारबाही तत्काल फिर्ता लिन र नेतृत्व तहमा रहेका नेताहरूको आकस्मिक बैठक बोलाउन संयोजक प्रचण्डसँग माग गरेका छन् । उनले किन यस्तो कदम चाल्नुपर्यो भन्ने विषयमा पार्टीभित्र गम्भीर समीक्षा र दोहोरो छलफल हुनुपर्ने बताएका छन् । पार्टीमा अधिनायकवादी शैली हाबी भएको भन्दै उनले सामूहिक निर्णय र नेतृत्व प्रणाली स्थापित गर्न नसके पार्टी दुर्घटनामा जाने चेतावनी दिएका छन् ।
खनालले नेतृत्व नसच्चिए पार्टी एकीकरण भइनसक्दै विशृंखलतातिर जाने र फुट्ने खतरा रहेको स्पष्ट पारेका छन् । मुलुकविरुद्ध भित्री र बाहिरी षड्यन्त्र भइरहेको बेला पार्टीलाई संस्थागत बनाउनुको साटो व्यक्तिवादी निर्णय हाबी भएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । नेकपाले सिन्धुली, सिराहा र दाङका सात नेतालाई पार्टीबाट निष्कासन गरेपछि पार्टीमा ठुलो असन्तुष्टि देखिएको छ ।












प्रतिक्रिया