काठमाडौं । निर्वाचन आयोगले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वशिक्षामन्त्री महावीर पुनलाई पुस्तक बेच्न रोक लगाएको छ । किताब बेचेर मत प्रभावित गर्न खोजेको आशंकामा आयोगले उनलाई यस्तो कार्यमा रोक लगाएको हो ।
पुनले कानुनले गर्दा आफू किताब बेच्न नपाएको जानकारी दिएका छन् । ‘नेपालको निर्वाचन कानुनले गर्दा किताब बेच्न पाइएन । आचारसंहितामा उम्मेदवारको चुनाव चिह्न भएको कुनै पनि वस्तु वा सामान बनाएर वितरण गर्न र बेच्न नपाउने भनेको रहेछ । त्यही कुरामा टेकेर विरोधीहरूले मलाई म्याग्दीमा मेरो आत्मकथाको किताब बेच्न पाइँदैन भनेर निर्वाचन आयोगमा उजुरी गरे छन्, र निर्वाचन आयोगले मलाई नबेच्न भनेको छ । आत्मकथाको किताबमा मेरो चुनाव चिह्न त्रिभुज छँदै छैन’, पुनले भने ।
पुनले आत्मकथामा आफूले पुस्तक लेख्नुको उद्देश्य र त्यसपछि भएका कामबारे जानकारी दिएका छन् । उनले वीरगञ्जस्थित कृषि औजार कारखाना सञ्चालनका लागि आफ्नो आत्मकथा समेटेर ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ किताब लेखेका छन् । जुन पुस्तक नेपालमा सबैभन्दा बढी बिक्री हुनेमा पर्छ ।
पुन मन्त्री पदबाट राजीनामा दिएर चुनावमा होमिएका छन् । उनलाई रास्वपा, उज्यालो नेपाललगायत दलले समर्थन गरेका छन् ।












प्रतिक्रिया