पैसा बाँडेको भेटिएपछि नेकपाका शक्ति बस्नेतसँग आयोगले माग्यो स्पष्टीकरण


काठमाडौं । निर्वाचन आयोगले नेपाली कम्युनिष्ट पार्टीका नेता तथा जाजरकोटबाट प्रतिनिधिसभा उम्मेदवार बनेका शक्ति बस्नेतसँग स्पष्टीकरण सोधेको छ । सोमबार जआयोगले पत्र काट्दै तीन दिनभित्र आयोगमा स्पष्टीकरण दिन आग्रह गरेको छ ।

बस्नेतले उम्मेदवार मनोनयनका क्रममा पाँच सय रुपैयाँका नोट बाँडिएको श्रव्यदृश्य सामाग्री बाहिरिएकाले सत्यतथ्य के हो बताउन आयोगले आग्रह गरेको छ । यस्तो कार्य निर्वाचन आचारसंहिताविपरीत भएको आयोगको ठहर छ ।

बस्नेत जाजरकोटमा सदाबहार चुनाव जित्दै आएका माओवादी नेता हुन् । माओवादीमा कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मापछि धेरै मन्त्री बन्नेमा बस्नेत अग्रपंक्तिमा पर्छन् । यदि आयोगले निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भेटेमा बस्नेतलाई जरिवाना र सजाय गर्नेछ ।