बालेन सुकुम्बासी लखेट्ने, श्रीमती सुकुम्बासीसँग भोट माग्न जाने


काठमाडौं । आफ्ना पति बालेन्द्र साह बालेन काठमाडौं महानगरपालिकाको मेयर उठ्दा श्रीमती सविना काफ्ले एकपटक पनि मतदाताकहाँ पुगिनन् । बालेन मेयर भएपछि मात्रै सविना झुल्किएकी हुन् । बालेनले मेयर भएलगत्तै सढक अतिक्रमित संरचनामा डोजर चलाए । त्यसपछि उनको आँखा बागमती, मनोहरा, विष्णुमति नदी किनारका सुकुम्बासीको बस्तीमा पुग्यो । उनले बागमतीका सुकुम्बासी बस्तीमा डोजर चलाए । थापाथलीस्थित सुकुम्बासी बस्तीमा पटकपटक डोजर चलाउन खोजे । संघीय सरकार र स्थानीयको विरोधले उनी पछि हटे ।

बालेनले सुकुम्बासीलाई प्रमुख दलका भोट बैंक ठान्थे । त्यही भएर उनी जसरी पनि सुकुम्बासीलाई त्यहाँबाट लखेट्न चाहन्थे । तर उनले सोचे जस्तो भएन । साढे तीन वर्षमै उनी मेयरबाट राजीनामा दिएर संघीय चुनावमा होमिएका छन् । उनी झापा ५ मा रास्वपाबाट उम्मेदवार बनेका छन् । माघ ६ गते झापामा उम्मेदवारी दिएर दुई दिन त्यहाँका मतदातालाई भेटेर उनी ताप्लेजुङ पुगे । र, काठमाडौं फर्के । अहिले उनी सुदूरपश्चिम प्रदेश पुगेका छन् ।

बालेन देश दौडाहामा लागेपछि उनकी श्रीमती सविना काफ्ले अहिले झापा ५ पुगेकी छन् । उनले घरदैलो अभियानको नेतृत्व गर्दै प्रचार अभियान सुरु गरेकी छन् । सोमबार बिहान दमक–९ मा रास्वपाको आयोजनामा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।

दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको कार्यक्रम पाणिनि स्कुल हुँदै देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक पार गर्दै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो।

बालेनको सचिवालयले सार्वजनिक गरेका तस्वीरमा सविना हात जोडेर स्थानीय मतदातासँग भोट मागिरहेको देखिन्छ । उक्त क्षेत्रमा सविनाले आफ्ना श्रीमान्‌लाई भोट गरेर प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरिरहेको बताइन्छ । उनी झापा ५ मा पर्ने सुकुम्बासी बस्ती पनि पुगिन् । बालेनलाई भोट दिन आग्रह गरिन् । सविनाको यस्तो आग्रहपछि अहिले झापा ५ मा श्रीमान् सुकुम्बासी खेदाउने, श्रीमती सुकुम्बासीसँग भोट माग्न जाने भन्दै आलोचना हुन थालेको छ ।