संसद् भवन आगो लगाउने र रवि विरोधी कार्कीलाई उम्मेदवार बनाएपछि मोरङ २ मा रास्वपा आलोचित


काठमाडौं । गत भदौ २४ एको जेनजी आन्दोलनका क्रममा संसद् भवनभित्रै छिरेर तोडफोड र आगजनी गर्नृे कृष्णकुमार कार्कीलाई रास्वपाले उम्मेदवार बनाएपछि चौतर्फी आलोचना सुरु भएको छ । रास्वपाले मोरङ २ बाट कार्कीलाई उम्मेदवार बनाएको हो । उनी नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेर विध्वंश मच्चाउने टोलीका मुख्यमध्येका एक रहेको पुष्टि भएको छ ।

मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की १२ वर्ष जापानमा रोजगारी गरे नेपाल फर्किएको देखिन्छ । उनी आफैंले सामाजिक सञ्जालमा राखेका तस्वीर र पोस्टमा संसद् भवनभित्र कुर्सी थुपारेर आगो लगाएको देख्न सकिन्छ । कार्कीले भदौ २५ गते फेसबुकमा लेख्दै आफूले संसद् भवनको कुर्सी जलाएको र नेताहरूको घरमा समेत पुगेर आगजनी गरेको स्वीकार गरेका छन् ।

‘हामी संसद् भवन प्रवेश गरिम, संसद् भवनको भित्र अगाडि हामीले पुरानो कुर्सी जम्मा गरेर आगो बालिम र खुसियाली मनाइम्, नेताको घरमा मात्र हाम्रो टार्गेट थियो,’ उनले लेखेका छन् । उनले बालाजुदेखि सिंहदरबारसम्मको विध्वंशको जिम्मेवारी जेनजीले लिनेसमेत उल्लेख गरेका छन् । कार्की केही महिनाअघिसम्म रास्वपा नेतृत्वको आलोचक थिए । जापानमा रहँदा उनले रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकी र सहकारी ठग भन्दै कडा टिप्पणी गर्ने गरेका थिए ।

गत अप्रिल १ मा उनले लेखेका थिए, ‘सोझा सीधा जनतालाई भ्रम छरेर सहकारी ठगी गर्ने अमेरिकी म टुलुटुलु हेरेर कहाँ बस्छु । म जस्तो मान्छे शक्तिमा पुगेँ भने तपाईंहरू र सहकारी ठगहरू एउटै जेलमा जानुपर्छ, यति चाहिँ हेक्का रहोस् ।’ मोरङ २ मा यसअघि रास्वपाबाट ठगेन्द्र न्यौपाने उम्मेदवार थिए ।

स्थानीय कार्यकर्ताहरूबीच उनकै चर्चा भए पनि अन्तिम समयमा कार्कीले टिकट लिएर आएपछि अहिले रास्वपाभित्रै असन्तुष्टि चुलिएको छ । विवादित व्यक्ति उम्मेदवार बनेपछि मोरङ २ मा अन्य दलका उम्मेदवारलाई सहज बनेको छ ।