विप्लवलाई नेकपा प्रवेश गर्न प्रचण्डको ‘उर्दी’


काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवलाई यताउत नभौंतारिन भन्दै एकतामा आउन भनेका छन् ।

बुधबार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताए । उनले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमीक्षा गर्दै मूलधारमा फर्किन आह्वान गरे ।

समाजवादी मोर्चाको समयदेखि नै एकताका लागि गम्भीर संवाद र छलफल हुँदै आएको उल्लेख गर्दै प्रचण्डले पछिल्लो पटक एकता लगभग टुंगिएको आफूले बुझेको भए पनि त्यो सफल हुन नसकेको उल्लेख गरे । जेन–जी आन्दोलनपछि विप्लव पक्ष वैचारिक अन्योल र विचलनतर्फ गएको प्रचण्डले आरोप लगाए ।

जेन–जी आन्दोलनपछि मुख्य नेतृत्व नै ठूलो भुमरीमा परेको जस्तो आफूलाई लागएको उनले बताए । प्रचण्डले आफूहरूले पनि आत्मसमीक्षा गरेर एकताको बाटो रोजेको उल्लेख गर्दै विप्लव पक्षलाई अझै अवसर बाँकी रहेको उल्लेख गरे । वास्तविक घर नेकपा भएकाले यताउता भौतारिएर केही नहुने उल्लेख गर्दै प्रचण्डले आत्मसमीक्षा गरेर एकतामा प्रक्रियामा आए फेरि स्वागत गर्न आफूहरू तयार रहेको बताए । कार्यक्रममा प्रचण्डले विप्लव नेतृत्वको पार्टीका काठमाडौं ६ का उम्मेदवार चिरञ्जीवी ढकाललाई नेकपा प्रवेश गराएका थिए ।