निर्वाचन व्यवस्थित बनाउन विश्वप्रकाश शर्माले दिए यस्तो निर्देशन


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनलाई व्यवस्थित बनाउन १२ समिति बनाउन पार्टी निकायलाई निर्देशन दिएका छन् ।

निर्वाचन परिचालन समितिका संयोजक शर्माले परिपत्र जारी गर्दै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्र कार्यसमितिका सभापतिलाई कम्तीमा १२ समिति बनाउन निर्देशन दिएका हुन् । आमनिर्वाचनमा पार्टी पंक्तिलाई व्यवस्थित रूपले परिचालित गर्न ती समिति गठन गर्न निर्देशन दिइएको परिपत्रमा उल्लेख छ ।

‘समिति कैयन ठाउँमा गठन भइसकेका छन् जहाँ गठन भएको छैन त्यहाँ निम्नानुसारका समिति अविलम्ब गठन गर्न गराउन आग्रह सहित यो परिपत्र पठाइएको छ,’ शर्माले भनेका छन् ।

परिपत्रअनुसार निर्वाचन व्यवस्थापन सचिवालय, निर्वाचन परिचालन मूल समिति, निर्वाचन प्रचार प्रसार मूल समिति, स्थानीय तह समन्वय समिति, बौद्धिक क्षेत्र समन्वय समिति, सामाजिक संघ–संस्था समन्वय समिति, धार्मिक संघ–संस्था समन्वय समिति, निजी क्षेत्र समन्वय समिति, १८–३० विशेष अभियान, पूर्वआप्रवासी समन्वय समिति, स्थानीय प्रशासन समन्वय समिति र अनुगमन समिति गठन गर्नुपर्नेछ । तीबाहेक निर्वाचन परिचाल समिति र प्रचार प्रसार समितिअन्तर्गत उपसमिति गठन गर्नुपर्ने छ ।

कांग्रेस सभापति गगन थापालाई घोषणापत्र लेखनको जिम्मा दिएको छ । थापाले विज्ञ सम्मिलित टिममार्फत घोषणापत्र लेखनको काम तीव्र पारेका छन् । माघ १६ गते सर्लाहीबाट काठमाडौं फर्केलगत्तै ‘भिजन १०’ नारा दिएर घोषणापत्रलाई अन्तिम रूप दिइने प्रवक्ता देवराज चालिसेले बताए ।