गगन थापाको विरासत बोकेर मैदानमा उत्रिएका सचिनको पक्षमा काठमाडौं ४ मा माहोल बन्दै


काठमाडौँ । काठमाडौं ४ मा नेपाली कांग्रेसबाट युवा नेता सचिन तिमिल्सेना प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेसँगै यो क्षेत्रको चुनावी प्रतिस्पर्धा चासोको विषय बनेको छ।

कांग्रेस सभापति गगनकुमार थापाले लगातार तीनपटकसम्म प्रतिनिधित्व गरेको यो क्षेत्रमा ३३ वर्षीय तिमिल्सेनालाई उम्मेदवार बनाउने निर्णय कांग्रेस संसदीय बोर्डले गरेको हो।

काठमाडौं ४ कांग्रेसको बलियो आधार क्षेत्रका रूपमा चिनिँदै आएको छ। गगन २०७० सालको संविधानसभा निर्वाचन तथा २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। यसपटक थापाले निर्वाचन क्षेत्र परिवर्तन गर्दै सर्लाही ४ बाट उम्मेदवारी दिएपछि उनले छोडेको राजनीतिक विरासतलाई निरन्तरता दिने जिम्मेवारी तिमिल्सेनालाई दिइएको छ।

पार्टी संगठनमा लामो समय सक्रिय रहँदै आएका तिमिल्सेना कांग्रेसभित्र उदीयमान युवा नेताका रूपमा परिचित छन्। विद्यार्थी राजनीतिदेखि संगठन निर्माणसम्म सक्रिय भूमिका निर्वाह गरेका उनले काठमाडौं ४ का टोल–टोलका समस्या नजिकबाट बुझ्ने अवसर पाएको दाबी गर्दै आएका छन्। आफ्नै समुदाय, समाज र परिवेशको विकास गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको उनको भनाइ छ।

‘आफ्नै क्षेत्रका समस्या मैले नजिकबाट देखेको र बुझेको छु। यही ठाउँ भएकाले रातदिन काम गरेर जनताको विश्वास जित्नेछु,’ तिमिल्सेनाले भने । उनले सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र सहरी पूर्वाधारलाई आफ्नो प्राथमिक एजेन्डा बनाएका छन्।

काठमाडौं ४ मा यसपटक २८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। एमालेबाट सचिवसमेत रहेका राजन भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाली कम्युनिस्ट पार्टीका इन्द्रकुमार भुसाललगायत उम्मेदवार बनेका छन्। यद्यपि कांग्रेसका लागि यो क्षेत्र गगनको निरन्तर विजयका कारण अझै पनि विश्वासिलो मानिन्छ। गगन थापाले सर्लाही ४ मा उम्मेदवारी दर्ता नगरेसम्म एमालेको कोही पनि उम्मेदवार देखिएकै थिएन । तर जब गगन सर्लाही ४ पुगे भनेर खबर फैलियो अन्तिम समयमा एमाले सचिव राजन भट्टराईले मनोनयन दर्ता गरेका हुन् ।

गगनको राजनीतिक पहिचान र संगठनात्मक प्रभाव तिमिल्सेनाका लागि ठूलो आधार बनेको देखिन्छ। कांग्रेस कार्यकर्ताहरू भने युवा उम्मेदवार तिमिल्सेनाले पार्टीको विरासत जोगाउँदै नयाँ ऊर्जा र दृष्टिकोणसहित संसदमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिरहेका छन्।

७६ हजारभन्दा बढी मतदाता रहेको काठमाडौं ४ मा आगामी २१ फागुनमा हुने मतदानले तिमिल्सेनाको राजनीतिक भविष्य तय गर्नेछ। त्यति मात्र होइन, उनी विजय भएमा कांग्रेस सभापति थापाको विरासतलाई निरन्तरता दिने छ ।