चार दिने भ्रमणका लागि राष्ट्रपति पौडेल आज जापान जाँदै


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार जापानको औपचारिक भ्रमणमा जाँदैछन् । माघ २१ गतेसम्म राष्ट्रपति पौडेलले जापानको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार आज नेपाल एयरलाइन्सको उडानबाट जापान प्रस्थान गर्ने भएका छन् ।

मन्त्रालयले राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको जनाएको छ । सोही दिन राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्री सनई ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति पौडेलले माघ १९ गते नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा जापान सरकारको तर्फबाट आयोजना हुने विशेष स्वागत समारोहमा सहभागिता जनाउने कार्यक्रम छ । भ्रमणका अवसरमा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले पनि राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नेछन् ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग बैठकमा सहभागिता जनाउनुका साथै, जापानस्थित नेपाली दूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने मन्त्रालयले जानकारी दिएको छ । फागुन २१ काे चुनावलाई प्रतिष्ठा बनाएका पाैडेल आफै विदेश जान लागेका छन् ।