काठमाडौं । २०७९ को आमचुनाव र २०८० को उपचुनावमा चितवन २ रास्वपा सभापति रवि लामिछानेले भारी मतान्तरले चुनाव जितेको ठाउँ हो । पहिले ४९ हजार मत ल्याएर चुनाव जितेका रविले उपचुनावमा कीर्तिमान ५४ हजार मत पाएर पुनः चुनाव जिते । तर दुई दुईपटक चुनाव जितेर सांसद बने पनि रविले पूरा कार्यकाल बिताउन पाएनन् ।
पहिले जिते पनि नेपाली र अमेरिकाको दोहोरो नागरिकताका कारण रविको सांसद पद गुम्यो । त्यसपछि उपचुनाव भयो । नेपाली नागरिकता लिएलगत्तै रविले उम्मेदवारी दिए । चुनावमा उनले कांग्रेसका जितनारायण श्रेष्ठलाई पराजित गरे । दुई दुईपटक गृहमन्त्रीसहित उपप्रधानमन्त्री बने । तर दुई वर्ष पुग्दा नपुग्दै सहकारी ठगी अभियोगमा उनको सांसद पद नै निलम्बनमा पर्यो । भदौको जेनजी आन्दोलनले प्रतिनिधिसभा नै विघटन भयो । यिनै कारण अहिले चितवनमा खासै चुनावी माहोल बन्न सकेको छैन ।
सहकारी ठगी मुद्दाकै कारण उम्मेदवार मनोनयन गर्ने दिन चितवन २ जान पाएनन् । माघ ६ गते रवि पर्सा जिल्ला अदालतमा उपस्थित भए । रातिमात्रै चुनावी क्षेत्र पुगे । र, भोलिपल्टै उनी चितवनबाट काठमाडौं फर्किए । र, विरामी भएर घरमै आराम गरिरहेका छन् ।
देशका झन्डै एक दर्जन चुनावी क्षेत्र चर्चामा आउँदा चितवन २ को खासै चर्चा छैन । चितवनको १ र ३ मा उम्मेदवार मतदाताकहाँ पुग्ने क्रम जारी छ । तर रवि नपुगेकाले चितवन २ मा एकोहोरो कांग्रेस उम्मेदवारको मात्र प्रचार भइरहेको छ । कांग्रेसले समाजसेवीको छवि बनाएकी मीना खरेललाई उम्मेदवार बनाएको छ । उनी पहिलोपटक प्रतिनिधिसभामा पुग्नलाई प्रतिस्पर्धा गर्न लागेकी हुन् ।
पहिलो पटकमै उनको भिडन्त ‘हेभीवेट’सँग हुन लागेको छ । सो क्षेत्रमा उनीसँगै रवि लामिछाने, एमालेका अस्मिन घिमिरे र नेकपाका प्रताप गुरुङ प्रतिस्पर्धामा छन् । तर एमाले र राप्रपाका उम्मेदवारको पनि त्यस्तो चर्चा छैन । भुइँ मान्छे र समाजसेवी छवि बनाएकी मिना रविका लागि कडा प्रतिस्पर्धी उम्मेदवार बन्दै गएको चर्चा सुरु भएको छ ।












प्रतिक्रिया