काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २५ दिन थप्ने तयारी गरेको छ ।
सोमबार बस्न लागेको मन्त्रिपरिषद् बैठकबाट आयोगको म्याद तेस्रोपटक थप्ने तयारी गरेको हो। यसअघि दुई पटकमा ५० दिन थप भइसकेको छ। तर यो अवधिमा पनि प्रतिवेदन तयार भइनसकेकाले तेस्रोपटक थप गर्ने तयारी भएको हो।
सरकारले गत असोज ५ गते जेनजी आन्दोलनमा भएको बल प्रयोगलगायतका घटनाको छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले घटनासँग सम्बन्धित सबैसँग बयानसमेत लिइसकेको छ । आयोगलाई सुरुमा तीन महिनाको समय दिइएको थियो । तर पटकपटक समय थप गरेर अब फागुन २१ को चुनावपछि मात्रै सार्वजनिक गरिने स्रोतले बतायो ।
आयोग गठन हुने बेलादेखि नै विवाद सुरु भएको थियो । अध्यक्ष कार्कीले पहिले नै सामाजिक सञ्जालमा एउटा भाष्य तयार गरिसकेको र त्यसलाई औपचारिकता दिन मात्र आयोग गठन गरिएको एमालेले आरोप लगाउँदै आएको छ । एमाले अध्यक्ष केपी ओलीकै आग्रहमा सरकारले चुनावपछि मात्र प्रतिवेदन बुझाउने गरी म्याद थप गर्न लागेको स्रोतले बतायो ।
आयोगको प्रतिवेदनमा भदौ २३ र २४ को जेनजी आन्दोलनको दमनका मुख्य दोषी तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकलाई किटान गरिएको बताइन्छ । चुनावअघि नै दोषीबारे तथ्य बाहिरिँदा त्यसको असर दूरगामी पर्ने देखेर फेर २५ दिन म्याद थप गर्ने तयारीमा सरकार लागेको बुझिएको छ । चुनाव सकिएपछि वर्तमान अन्तरिम सरकारको औचित्य पनि सकिने र त्यसपछिका घटनाको अपजस आफ्नो टाउकोमा नपर्ने विश्वासमा प्रधानमन्त्री सुशीला कार्की देखिन्छिन् ।












प्रतिक्रिया