काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह बालेनप्रति लगातार खनिन थालेका छन् । केही समयअघिसम्म बालेन र हर्क साम्पाङ राईलाई हिलोमा फूलेको दुई फूल भनेर टिप्पणी गर्ने प्रचण्ड चुनावको मिति नजिकिँदै जाँदा आक्रामक देखिन थालेका हुन् । एक महिनाअघिसम्म उनले रास्वपाको आलोचना गर्दैनथे । त्यसमा पनि रवि लामिछानेको निकै बचाउ गर्थे ।
आफूले नै दुई दुईपटक गृहमन्त्री बनाएको, सहकारीका विषयमा बचाउ गरेको भन्ने गर्थे । तर अहिले रास्वपालाई उनले अन्तर्राष्ट्रिय शक्तिले चलाउँदै आएको गम्भीर आक्षेप लगाउन थालेका छन् । त्यति मात्र होइन, रवि र बालेनलाई विभिन्न शक्तिकेन्द्रले प्रोभोक गरिरहेको उनको निष्कर्ष छ । यसैक्रममा प्रचण्डले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित निर्वाचन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालैका दिनमा देखिएको ‘स्टन्ट’ र ‘हल्ला’ को प्रभाव जनताले बुझिसकेको भन्दै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई तर्कसहित त्यसको खण्डन गर्न र आगामी निर्वाचनमा केन्द्रित हुन निर्देशन दिए । प्रचण्डले सामाजिक सञ्जालको भरमा गरिने राजनीतिलाई ‘स्टन्टबाजी’ को संज्ञा दिँदै फिल्डमा त्यस्तो प्रभाव नरहेको स्पष्ट पारे ।
उनका अनुसार जहाँ पहिला त्यस्ता शक्तिहरूले जितेका थिए, त्यहाँ अहिले उनीहरूको प्रभाव ओरालो लागेको छ । नयाँ स्थानहरूमा भ्रम दिन सजिलो हुने भए पनि जनताले नेताहरूको काम र क्षमताको मूल्यांकन गरिसकेको उनको भनाइ छ । प्रचण्डले उपत्यकालगायतका क्षेत्रमा पुराना र अनुभवी नेताहरूलाई जनताले हेरिसकेको र अब स्टन्टबाजहरूको हल्लाखोर प्रवृत्तिको भ्रम मुक्त भइसकेको दाबी गरे । ‘जहाँ जनताले अझै कुरा बुझ्न पाएका छैनन्, त्यहाँ मात्र यस्ता प्रचारको प्रभाव देखिएको छ । त्यस्ता भ्रमहरूलाई तर्कद्वारा चिर्नुपर्छ,’ उनले भने । राजनीतिक संकटको समाधानका लागि निर्वाचन नै एक मात्र वस्तुवादी र वैज्ञानिक बाटो भएको उनको तर्क छ ।












प्रतिक्रिया