अख्तियार प्रमुखसहित १० उच्चपदस्थलाई ज्यान  मार्ने धम्कि दिने पाठकलाई ल्याइयो नेपाल


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख प्रेमकुमार राईसहित देशका १० उच्चपदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनलाई पक्राउ गरेर बुधबार नेपाल ल्याइएको हो । पाठकविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गरिएको थियो ।

नोटिस जारी भएपछि उनी फिलिपिन्समा लोकेट भएका थिए । उनलाई फिलिपिन्समा पक्राउ गरिएको थियो । पाठकले अख्तियार प्रमुख राई, कांग्रेस नेतृ आरजु राना देउवा, लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, दुर्गा प्रसाई, पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरीसहितलाई धम्की दिएका थिए । उनले अख्तियारको इमेल ठेगानामा मेल गर्दै १० दिनभित्र ज्यान मार्ने भनेका थिए ।

काठमाडौँका एसएसपी रमेश थापाका अनुसार सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै पाठक भारत, इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए । उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठकलाई लिन प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना इन्स्पेक्टर फिलिपिन्स गएका थिए । यसअघि प्रहरीले पाठकसँग ‘कनेक्सन’ मा देखिएका धादिङका शरणजंग शाही, सर्लाहीका तोरण थापा मगर र बर्दियाका धिरेन्द्र सुनारलाई पक्राउ गरेको थियो ।