देउवाले खोले मुख, कांग्रेसका उम्मेदवार जिताउन दिए निर्देशन


काठमाडौं । विशेष महाधिवेशनपछि मौन बस्दै आएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अन्ततः मुख खोलेका छन् । चुनावको मिति नजिकिँदै जाँदासमेत कुनै प्रतिक्रिया नगरेका देउवाले आफ्ना विश्वासपात्र सुृदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमार्फत महत्वपूर्ण सन्देश दिएका हुन् ।

देउवाले निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्न निर्देशन दिएका छन् । बुधबार महाराजगञ्जस्थित निवासमा भएको भेटघाटका क्रममा देउवाले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचनमा सबै नेताकार्यकर्ता पूर्ण रूपमा समर्पित हुनुपर्ने बताएको मुख्यमन्त्री शाहले जानकारी दिए ।

प्रदेश सरकारको तर्फबाट भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन पनि देउवाले मुख्यमन्त्री शाहलाई भनेका थिए । स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको अपरिहार्यता रहेको देउवाको भनाइ थियो ।

देउवा मौन बस्दै आएपछि चुनावको मुखमा सिंगो कांग्रेसलाई नै असर पुग्ने देखिएको थियो । बुधबार मात्रै कांग्रेस प्रवक्ता देवराज चालिसेले चाँडै पार्टी सभापति गगन थापा र पूर्वसभापति देउवाले संयुक्त विज्ञप्ति निकालेर चुनावमा पार्टीका उम्मेदवार जिताउन अपिल गर्ने जानकारी दिएका थिए ।

कांग्रेसको आधिकारिकताको विषयले गर्दा देउवालाई अलिकति नैतिक संकट रहेको विश्लेषण हुँदै आएका थियो । सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकताको विषय अब चुनावसम्म थाती राख्ने देखिएपछि देउवाले व्यक्तिगत रूपमै चुनावमा सक्रिय हुने निधो गरेको बताइन्छ । चुनावलगत्तै कांग्रेसको १५औं महाधिवेशन हुने भएकाले आफ्नो पक्षलाई एकढिक्का बनाउन पनि देउवाले पार्टीका उम्मेदवारलाई जिताउने गरी रणनीति बनाएका हुन् । देउवा आफैं चुनाव प्रचारप्रसारमा नहिँडे पनि उनले दिने सन्देशले सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशमा धेरै ठूलो प्रभाव राख्ने कांग्रेस नेता कार्यकर्ता बताउँछन् । त्यसैले कांग्रेस एकढिक्का भएर चुनावमा होमिएको म्यासेज दिने देउवाको तयारी छ ।