काठमाडौं । रास्वपा उम्मेदवार सुलभ खरेल सुप्रिम सहकारीपीडितबाट घेरिएका छन् । बुधबार पीडितहरूले बुटवल उपमहानगरपालिका–११, होराइजन चोकमा प्लेकार्डसहित खरेल र रास्वपाविरुद्ध नाराबाजी गरेका छन् ।
पीडितहरू नाराबाजी गर्न थालेपछि खरेल रेष्टुरेन्टभित्र पसेका थिए । उनी करिब एक घण्टासम्म बाहिर निस्किएनन् । आफ्नो बचत फिर्ताबारे प्रश्न गर्न आएको पीडितहरूले बताएका छन् । सुप्रिम सहकारीमा ७८ करोडभन्दा बढी रकम अपचलन भएको आरोप छ ।
भोट माग्दै बुटवलका विभिन्न स्थानमा पुगेका खरेलसँग सहकारी पीडितले आफ्ना समस्या र बचत रकम फिर्ताबारे जवाफ मागेका थिए । स्थानीय चेतनाथ शर्माको नेतृत्वमा भेला भएका पीडितहरूले ‘जेनजीका माग पूरा भए ?’, ‘हामीले खाई–नखाई जम्मा गरेको रकम कहिले फिर्ता हुन्छ ?’, ‘सहकारी ठगीको जिम्मेवार को ?’, ‘तिम्रो नेता खोइ ?’ लगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
रुपन्देही २ बाट उम्मेदवार बनेका खरेलमाथि भदौ २४ गतेको जेनजी विध्वंशका क्रममा सर्वोच्च अदालत जलाउन भदौ २३ मा ह्वाट्सएप र सामाजिक सञ्जालमा उक्साएको आरोप लागेको छ । स्थानीय मतदाताले खरेलमाथि सहकारी प्रकरणबारे स्पष्ट धारणा सार्वजनिक गर्न दबाब बढाएका छन् ।
दुई दिनअघि मात्रै रास्वपा सभापति रवि लामिछाने बुटवल पुगेर जिल्ला अदालत रुपन्देहीमा तारिख बुझेका थिए । उनले सुप्रिम सहकारी ठगी मुद्दामा आफ्नो भागमा परेको पौने चार करोड धरौटी रकम अदालतमा बुझाएर निस्किएका हुन् ।












प्रतिक्रिया