काठमाडौं । चुनावको मुखमा फेरि नेपाल बन्द र हडतालका गतिविधि हुन थालेको छ । निर्वाचन आउन १७ दिन मात्र बाँकी छँदा विभिन्न दल र समूह बन्द र हडतालमा उत्रिएका हुन् । निर्वाचन बहिष्कार गर्दै आएको धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा (बहुमत) ले फागुन ५ गते नेपाल बन्दको घोषणा गरेको छ ।
पार्टीले सोमबार सूचना जारी गर्दै सर्वपक्षीय सरकार गठनको मागसहित नेपाल बन्दको घोषणा गरेको हो । ‘साम्राज्यवादी डिजाइनअन्तर्गत फागुन २१ गते हुन गइरहेको कथित निर्वाचन खारेज गर्न, वैदेशिक उत्पीडन र हस्तक्षेपका विरुद्ध संघर्ष गर्न, राष्ट्रिय स्वतन्त्रको रक्षा गर्न र स्वाधीन संयुक्त सरकार स्थापनाको बाटोमा अघि बढ्न यही फागुन ५ गते हाम्रो पार्टीले नेपाल बन्दको आयोजना गरेको जानकारी गराउन चाहन्छौँ,’ पत्रमा भनिएको छ ।
पार्टीले नेपाल बन्द गर्नुको अन्य कारणहरु पनि बुँदागत रुपमा प्रस्तुत गरेको छ । जनसंविधान निर्माण गर्न, भ्रष्टाचार र कालोबजारी अन्त्य गर्न, युवाहरुलाई स्वदेशमै रोकेर रोजगारीको सिर्जना गर्न, भूमिहीनहरुलाई जमीनको व्यवस्था गर्न, शिक्षा, स्वास्थ्य र यातायात निशुल्क गर्नलगायतका कारण नेपाल बन्दको घोषणा गरिएको पार्टीले जनाएको छ । यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाभियानले पनि नेपाल बन्दको चेतावनी दिएको छ ।
सरकारसँग भएको १२ बुँदे सहमति कार्यान्वयनका निम्ति दबाब दिँदै महाभियानका अध्यक्ष दुर्गा प्रसाईंले यस्तो चेतावनी दिएका हुन् । प्रसाईले सोमबार विज्ञप्ति जारी गर्दै फागुन ७ गतेसम्म सम्झौता कार्यान्वयन नगरे ८ गते आन्दोलनको कार्यक्रम तय गरी अनिश्चितकालीन नेपाल बन्द र आमहड्ताल गर्ने बताएका छन् । ‘नेपाल सरकारले हामीसँग गरेको १२ बुँदे सहमति फागुन ७ गतेसम्म हुबहु कार्यान्वयन गर्नुपर्ने नगरे फागुन ८ गते आन्दोलनको मिति तय गरेर अनिश्चितकालीन नेपाल बन्द र आमहड्ताल गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै, फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी नहुन राष्ट्रवादी, देशभक्त, सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, लब्ध प्रतिष्ठित व्यक्तित्व, मजदुर, किसान, पत्रकार र आम नागरिकलाई अपिल गरेका छन् । सो दिन सवारी यातायातका साधन, शैक्षिक संघसंस्था, प्रतिष्ठान, कलकारखाना, उद्योग, बजार व्यवसाय सबै बन्द रहनेसमेत प्रसाईंको भनाइ छ । चुनावको मुखमा बन्द र हडतालका हल्ला चलेपछि आमजनतामा फेरि भय सिर्जना भएको छ ।












प्रतिक्रिया