काठमाडौं । चुनावको मुखमै मधेश प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी छाड्नेको लहर चलेको छ । केही दिनअघि रास्वपाका चर्चित नेता दीपक महतो रास्वपा परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । महतोलाई कांग्रेस सभापति गगन थापाले चुनावी परिचालनको जिम्मा दिइसकेका छन् ।
यसैक्रममा मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि रास्वपा परित्याग गरेकी छन् । हाल पार्टीको केन्द्रीय महिला वतथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उनले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी छिन् । शर्माले पार्टीमा इमानदार व्यक्तिहरुको मूल्यांकन नभएको र आर्थिक अनियमितता भएको आरोप लगाउँदै पार्टीमा बस्न नसकेको बताएकी छिन् ।
‘आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरु प्रेरित भएकोबाट मेरो आत्मसम्मान र राजनीतिक मूल्यहरुमाथि आँच आउने परिस्थिति बनेको छ । यी सबै क्रियाकलापहरुको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु । त्यसकारण आजकै मितिदेखि लागू हुने गरी म यस पार्टीको साधारण सदस्य समेत नरहने गरी आफ्नो राजिनामा पेस गर्दछु,’ उनले विज्ञप्तिमा भनेकी छन् ।
मधेश प्रदेशमा टिकट वितरणका क्रममा आर्थिक चलखेल भएको भन्दै रास्वपामा तीव्र असन्तुष्टि छ । रास्वपा प्रवक्ता मनिष झा र अमरेशकुमार सिंहमाथि टिकट बिक्री गरेको आरोप लागेको छ । चुनावकै मुखमा एकपछि अर्को प्रभावशाली नेताले पार्टी परित्याग गरेपछि रास्वपालाई मधेशमा ठूलो धक्का लागेको छ । विगतमा पार्टीको संगठन जोगाएर यहाँसम्म ल्याउने नेताहरुमाथि अपमान गर्ने, अवसर नदिने, पैसाको चलखेल गर्नेको बोलवाला बढेको भन्दै असन्तुष्टि बढेको छ ।













प्रतिक्रिया