एभरेस्ट होटलमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै ओली


काठमाडौं । एमालेले प्रतिनिधिसभा निर्वाचन लक्षित आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ । पार्टी अध्यक्ष केपी ओलीसहित पदाधिकारीहरूको उपस्थितिमा काठमाडौं विशेष कार्यक्रममार्फत घोषणापत्र सार्वजनिक गरिन लागेको हो । कार्यक्रम १२ बजे एभरेस्ट होटेल बानेश्वरमा हुने एमाले प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।

घोषणापत्रमा ‘समृद्ध नेपाल’ निर्माणलाई मुख्य एजेन्डाका रूपमा अघि सारिनेछ । सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक न्याय सुनिश्चितता तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको एमालेले जनाएको छ ।

आगामी निर्वाचनमा स्पष्ट बहुमत हासिल गर्ने लक्ष्यसहित रणनीतिक कार्यक्रम सार्वजनिक गरिने एमालेको भनाइ छ । यसअघि एमाले अध्यक्ष ओलीले झापा ५ मा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् । सोही प्रतिबद्धता पत्रअनुसार नै एमालेको घोषणापत्र तयार पारिएको नेताहरुको भनाइ छ ।