चुनावका बेला एक हप्ता सार्वजनिक बिदा, धेरै मतदाता भोट हाल्न जाने


काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेको निर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

निर्वाचन आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आइतबार सरकारलाई पत्राचार गर्दै चुनावमा तीन दिन बिदा दिन सिफारिस गरेको जानकारी दिए। आयोगले २०, २१ र २२ गते बिदा दिन सरकरालाई सिफारिस गरेको छ। आयोगले गरेको सिफारिसबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत फागुन २१ गते मतदान हुनेछ। आयोगले सिफारिस गरेअनुसारको निर्णय भए निर्वाचनको समयमा एक साता नै बिदा हुनेछ।

यसपालिको फागु पूर्णिमा फागुन १८ गते मनाइँदैछ। १९ गते तराईमा होली मनाइन्छ। २३ गते शनिबार र २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइँदै छ। जसकारण एक साता छुट्टी हुने भएकाले धेरै मतदाता आफ्नो निर्वाचन क्षेत्र जान पाउने अवस्था छ ।