निर्वाचन भाँड्ने खेल भइरहेको कांग्रेसको आशंका


काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन भाँड्ने खेल भइरहेको आशंका गरेको छ । पछिल्लो केही दिनयता देशभर देखिएका हिंसात्मक घटनाले चुनाव बिथोलिन सक्ने भन्दै त्यसमा एउटा तत्त्व सक्रिय रहेको उसले आशंका गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता देवराज चालिसेले शासनको वैधता जनताको मत भएको पनि बताए ।

‘निर्वाचन समयमा हुन नदिन विभिन्न तत्त्वहरू लागिरहेका छन् । सरकार दृढ भएर समयमै निर्वाचन सम्पन्न गर्नुपर्छ,’ चालिसेले भने, ‘लोकतान्त्रिक शासन व्यवस्थामा शासनको वैधताको स्रोत जनताको मत हो । लोकतान्त्रिक पार्टीले जन सर्वोच्चतालाई स्वीकार्नुपर्छ । हामीले स्वीकारेका छौँ ।’

उनले सबै पार्टीहरूले निर्वाचनमा भाग लिनेबाहेक विकल्प सोच्न नहुने पनि बताए । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्वाचन अगाडि राष्ट्रिय सहमतिको कुरा गरेका छन् नि भन्ने पत्रकारहरूको प्रश्नमा प्रवक्ता चालिसेले सबैको व्यक्तिगत स्वतन्त्रता हुने भन्दै निजी अभिव्यक्तिमा कुनै टिप्पणी नरहेको बताए ।

‘सबैको व्यक्तिगत स्वतन्त्रता हुन्छ । निजी स्वतन्त्रताप्रति कुनै टिप्पणी छैन,’ उनले भने, ‘तर शासनको वैधताको स्रोत निर्वाचन र जनताको मत हो । निर्वाचनपछि बन्ने जनमतको सरकारले जनताका समस्या समाधान गर्नेछ ।’ केही दिनअघि पश्चिम नेपालमा निर्वाचन प्रहरीको हत्या, दाङमा एमालेको झन्डा जलाइएको घटना, रौतहटको गौरमा भड्किएको साम्प्रदायिक हिंसालाई चुनाव भाँड्ने खेलको रूपमा कांग्रेसले बुझेको छ । त्यसैले फागुन १५ वा १६ गते चुनावका सम्बन्धमा एउटा निर्णय गर्ने खेल भइरहेको बताइन्छ । अहिले एमाले अध्यक्ष केपी ओलीले चुनावका विषयमा दिएका अभिव्यक्ति त्यसबारे नै लक्षित रहेको बुझिएको छ ।