झापा ५ मा एमालेको चुनावी सभा, ओलीले सम्बोधन गर्ने


काठमाडौं – फागुन २१ को निर्वाचनअन्तर्गत एमालेले पहिलो चुनावी सभा झापाबाट सुरु गरेको छ । सोमबार एमाले अध्यक्ष केपी ओलीको उपस्थितिमा नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमाण्ड घोषणा सभा गरेर एमालेले चुनावी प्रचार अभियान थालेको हो ।

जेनजी आन्दोलनपछिको अवस्था र झापा ५ मा रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेन उम्मेदवार बनेपछि एमाले अध्यक्ष ओली निर्वाचन क्षेत्रमा मात्रै सीमित भएका थिए । उनी बाहिरका चुनावी सभामा जान पाएका थिएनन् । विगतको निर्वाचनमा ओलीले मुख्य मुख्य सहरमा चुनावी भाषण गर्थे । तर अहिले आफ्नै निर्वाचन क्षेत्रमा सीमित भएका छन् ।

यसपटक ओलीले निर्वाचन क्षेत्रका सबै स्थानीय तह र वडासम्म घरदैलो गरेका छन् । सबैको कुरा सुनेका छन् । पछिल्लो समय केही माहोल बनेपछि ओलीले सोमबार चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन् । एउटा निर्वाचन क्षेत्रको चुनावी सभामा उल्लेख्य मास देखिएको छ ।

तर रास्वपा नेता बालेन भने चुनावी सभा गर्दै विभिन्न सहर पुगेका छन् । उनी सोमबार हेटौडा जाने भनिए पनि रोकिएका छन् । उनी फागुन १५ गते चितवनको भरतपुर पुग्ने भएका छन् रवि लामिछानेलाई भोट माग्न । त्यसबेलासम्म झापा ५ मै रहने उनको सचिवालयले जनाएको छ ।