काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले आफूलाई हटाउँदा देश ड्राइभरविनाको गाडीजस्तो भएको बताएका छन् । झापाको दमकमा सोमबार नेसनल भोलेन्टिर्यस फोर्स कोशीको घोषणा कार्यक्रममा उनले आफू सरकारमा आउना साथ देश कुद्ने दाबीसमेत गरे ।
‘मलाई सरकारबाट हटाउँदा डाइभरविनाको गाडीजस्तो हुन्छ देश,’ उनले भने, ‘म सरकारमा आउनेबित्तिकै देश कुद्छ । म सरकारबाट हटेपछि जहाँको त्यहीँ हुन्छ ।’ उनले देश विकास गर्ने पार्टी एमाले भएको दाबी गरे । ओलीले देश विकासको जिम्मा आफू र एमालेलाई दिन पनि आह्वान गरे । देशमा धेरै विकास भएको र केही बाँकी रहेको बताउँदै ओलीले बाँकी रहेको काम एमालेले पूरा गर्ने बताए ।
अहिले एमालेले गरेको विकासमा उभिएर एमालेको विरोध भइरहेको ओलीको दाबी छ । ‘यही दमकले हेरोस् रतुवा र मावामा एउटा मात्रै पुल थियो । कालोपत्रे हेर्न राजमार्ग आउनुपर्थ्यो । घरअगाडि कालोपत्रे छ, बिजुलीका खम्बा छ । घरघरमा बिजुली छ,’ उनले भने, ‘कालोपत्रे सडकको छेउमा उभिएर अहिलेसम्म के भयो भनेको सुनिन्छ ।’
ओलीले केहीले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको बताएका छन् । रास्वपा उम्मेदवार बालेन्द्र साहप्रति लक्षित गर्दै ओलीले बच्चाबच्चीले भनिदिएजस्तो केहीले आफूहरुलाई प्रधानमन्त्री घोषणा गरिदिएको भन्दै कटाक्ष गरेका हुन् । ‘कसैले बच्चाबच्चीलाई तपाई पछि के बन्ने भनेर सोध्यो भने उसले, प्रधानमन्त्री पनि भन्न सक्छ राष्ट्रपति पनि भन्न सक्छ । ख्यालख्यालमा घोषणा गर्दैमा प्रधानमन्त्री कोही बन्छ ?’ ओलीले प्रश्न गरे ।
उनले प्रधानमन्त्री पदलाई ख्याल गर्ने जिम्मेवारीको रुपमा नलिन पनि सचेत गराए । उनले आफूले सरकारको नेतृत्व लिँदा गरेका कामहरु पूरा गर्नका लागि निर्वाचनमा उम्मेदवारी दिएको पनि बताए ।
झापा ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका ओलीले एमालेलाई प्रश्न उठाउने ठाउँ नभएको बताए । ‘एमालेले गर्भमा हुँदादेखि अन्तिम संस्कारसम्म कुन मानव जातिका लागि के काम गरेको छैन ? किसान, मजदुर, प्रहरीका लागि, व्यापारी उद्यमीका लागि, निर्माण व्यवसायी, यातायात व्यवसायी, बालबालिकाका लागि, युवाका लागि, जागिर खाने युवाका लागि, पढ्ने उमेरका बालबालिकाका लागि, वृद्धवृद्धाका लागि, अनाथका लागि कसका लागि काम गरेको छैन ?’ ओलीले भने ।
एमाले शान्तिपूर्ण, निष्पक्ष, धाँधलीरहित भयरहित चुनावको पक्षमा रहेको उनको भनाइ थियो । मतदाताले स्वतन्त्र ढंगले मत खसाल्न पाउनुपर्ने पक्षमा एमाले रहेको उनको भनाइ छ । उनले कसैले बुथ कब्जाको कल्पना पनि नगरे हुने चेतावनी दिए । ओलीले नेसनल भोलेन्टिर्यस् फोर्स चुनावका लागि मात्र नभई सधैँका लागि स्थापना भएको बताए । फोर्सले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरीलाई सहयोग गर्ने दाबी गरे । उनले एउटा बुथमा ३० जना भोलेन्टियर्स खट्न निर्देशनसमेत दिए ।












प्रतिक्रिया