काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापा बिहीबार सुर्खेत जाने भएका छन् । प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न उनी सर्लाहीबाटै सुर्खेत जाने भएका हुन् ।
प्रतिज्ञा पत्र सार्वजनिकपछि कांग्रेसको यो दोस्रो प्रदेशस्तरीय आमसभा हो । बिहीवार सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई कांग्रेस सभापति थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले सम्बोधन गर्ने कांग्रेस कर्णाली प्रदेशका महामन्त्री निरन्जन केसीले बताए ।
आमसभाका लागि कर्णालीका सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र कालिकोट जिल्लाबाट समर्थक आउने भएका छन् । सुर्खेतमा हुने आमसभाले कर्णालीमा कांग्रेसको पक्षमा माहोल बनाउन मद्दत पुग्ने कांग्रेसको बुझाई छ ।
आमसभाको प्रचार प्रसार व्यापक गरिएको र ठूलो संख्यामा मानिसहरु सभामा सहभागी हुने महामन्त्री केसीले बताए ।
सुर्खेत कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला हो । खड्काले चुनाव लड्दै आएको सुर्खेत १ मा बिष्णुबहादुर खड्का उम्मेदवार बनेका छन् । आफ्नै भाइ चुनाव लडे पनि खड्का चुनाव प्रचारमा सुर्खेत आएका छैनन् ।
यसपछि कांग्रेसले गण्डकी प्रदेशस्तरीय चुनावी सभा पोखरामा आयोजना गरेको छ । सो सभालाई पनि सभापति थापा र उपसभापति शर्माले सम्बोधन गर्ने भएका छन् ।












प्रतिक्रिया