सुर्खेत, बाँके र रूपन्देहीमा आज कांग्रेसको चुनावी सभा


काठमाडौं । नेपाली कांग्रेसले बिहीबार एकै दिन देशका तीन फरक फरक स्थानमा चुनावी सभा गर्दैछ । प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनकपुरमा ‘मधेश सभा गरेको कांग्रेसले आज सुर्खेत, बाँके र रूपन्देहीमा गरी तीन स्थानमा चुनावी सभा गर्ने भएको हो ।

गत फागुन ६ गते कांग्रेसले जनकपुरमा पहिलो चुनावी सभा गरी प्रतिज्ञापत्र सार्वजनिक गरेको थियो ।सुर्खेत, बाँके र रूपन्देहीमा आज हुने चुनावी सभामा सभापति गगन थापा र उपसभापतिद्वय विश्वप्रकाश शर्मालगायतका नेताहरू सहभागी हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए ।

उनका अनुसार सभापति थापासहितका शीर्ष नेताहरू हेलिकप्टरमार्फत चुनावी सभामा पुग्ने छन्। यस्तै ती सभाहरुमा सम्बन्धित प्रदेश भित्रका प्रतिनिधि सभा निर्वाचन क्षेत्रका उम्मेदवार तथा स्थानीय नेताहरू पनि सहभागी हुने छन्।

कांग्रेसले फागुन १५ गते पोखरामा चुनावी गर्दैछ भने १७ गते काठमाडौंमा चुनावी सभा गर्ने कांग्रेसको तयारी छ। कांग्रेसले कोशी र सुदूरपश्चिममासमेत सभाको तयारी गरिरहेको छ । तर मिति भने तय भइनसकेको प्रवक्ता चालिसेले बताए ।

कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक उपसभापति शर्मा भने विभिन्न जिल्लामा चुनावी सभा र कोण सभामा सरिक भइरहेका छन् । तर सभापति थापा भने मधेशपछि पहिलोपटक कर्णाली प्रदेशस्तरीय चुनावी सभामा सम्बोधन गर्न सुर्खेत पुग्न लागेका हुन् ।