तीन जिल्लाका १५ कांग्रेस उम्मेदवार आज ‘भिजन १०’ प्रतिबद्धता सार्वजनिक गर्दै


काठमाडौं – काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूले बिहीबार विकासको मार्गचित्र ‘भिजन १०’ प्रतिबद्धता सार्वजनिक गर्ने भएका छन् ।

काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धता सार्वजनिक गरिन लागेको हो ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरण गराउने पहल गरेका थिए।

पौडेलले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दामा उम्मेदवारहरूबीच परामर्शपश्चात खाका तयार पारिएको बताए ।

‘समग्र उपत्यकाको विकासको मार्गचित्र हाम्रो प्राथमिकतामा छ । एक्लाएक्लै भन्दा साझा रुपमा मुद्दा उठाउन सहज हुने भएकाले साझा प्रतिबद्धता सार्वजनिक गर्न लागेका हो,’ उनले भने । कार्यक्रममा तीनवटै जिल्लाका नेपाली कांग्रेस उम्मेदवारहरू उपस्थित हुने भएका छन् ।

कांग्रेसले यसअघि नै २०० पृष्ठको चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरिसकेको छ । त्यस्तै, कांग्रेस उम्मेदवारहरुले आआफ्नो निर्वाचन क्षेत्रका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । यसरी उम्मेदवारहरुले साझा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको सम्भवतः नेपालमै पहिलो भएको बताइन्छ ।